Prakash Adhikari August 15, 2021

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १ सय ६ परीक्षणमा २ हजार २ सय १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ३२ हजार २७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ जना पुगेको छ ।

नेपालमा हाल ३५ हजार १८ होम आइसोलेशन र ४ हजार २ सय ८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७ सय ५८ आइसियू र १ सय ९३ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ जना रहेको मन्त्रालयले जनाएको छ ।

थप ३३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ९२ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । कूल मृतक सङ्ख्यामध्ये ५ हजार ५ सय २२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ४ सय ७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८ सय ५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३ सय १८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएका छन् । १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कतिले लगाए खोप ?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३३ लाख ६४ हजार नाघेको मन्त्रालयले जनाएको छ।

अक्सफर्ड आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

Share Now

Leave a comment.