Prakash Adhikari August 16, 2021

 

काबुल(अफगानिस्तान), ३२ साउन (बीबीसी) । तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।

राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो।

अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ुशान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामाु सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।

तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताउनुभएको छ।

काबुल प्रवेश
बीबीसीलाई अर्का एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताउनुभएको छ।

स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोड्नुभएको हो।

राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन।

तालिबान

अमेरिकी दूतावास सारियो

काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ।

हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो।

आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरिएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १ हजार ४ सय अमेरिकी कर्मचारी थिए।

तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ।

 

Share Now

Leave a comment.