बालुवाटार(काठमाडौं), १३ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको अभियानमा गैर आवासीय नेपाली संघको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना ज्ञापन गर्न गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा बालुवाटारमा आएको प्रतिनिधि मण्डलसंगको भेटमा प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा एनआरएनएको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलार्इ समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पारे । ‘
हालै सम्पन्न निर्वाचनमा नेपाली जनताले मुलुकको समृद्धि,विकास र राजनीतिक स्थीरताको पक्षमा देखाएको विश्वासलाई सार्थक बनाउने संकल्प बोकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,’ देश विकासको यो नयाँ अभियानमा गैह्र आवासीय नेपालीको भूमिका महत्वपूर्ण हुनेछ । तपाईहरु पनि लगानी गर्नुस र आफूले विश्वास जितेका स्वदेशी र विदेशी सबै लगानी कर्तालाई नेपालमा ढुक्कसंग लगानी गर्न आग्रह गर्नुस् । लगानीको लागि अनुकूल बातावरण बनाउने काम मेरो भयो ।’
भेटमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गैर आवासीय नेपालीहरुको लगानी बढ्दै गएको बताएका थिए । उनले संघको अगुवाईमा भएको लाप्राकको एकीकृत वस्ती निर्माण र अन्य परियोजनाहरुका बारेमा पनि प्रकाश पारेका थिए ।
प्रतिनिधि मण्डलमा एनआएएनएका पूर्वअध्यक्ष उपेन्द्र महतो सहित पूर्व तथा वर्तमान कार्य समिति ,सल्लाहकार र विभिन्न समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।