बालुवाटार(काठमाडौं), १३ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उद्योग र वाणिज्य क्षेत्रका व्यवसायीहरुलाई मुलुकको समृद्धिको निमित्त आर्र्थिक क्षेत्रको नेतृत्व लिन तयार रहन आग्रह गरेका छन् ।
शनिवार आफूलाई बधाई दिन बालुवाटार आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुुन । उनले उद्योग व्यापारको विकास र विकास निर्माणलाई गति दिन कुनै कानुनी जटिलता भए तिनलाई खुकुलो पार्न सरकार तयार रहेको पनि बताए।
‘सरकारी कार्यलयका टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ’ निजी क्षेत्रको छाता संगठनका प्रतिनिधिसंगप्रधानमन्त्री ओलीले भने ‘सरकारी कर्मचारीले कुनै नियतवस सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।’
‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने,समयमा काम नसक्ने र विना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कार्यवाही हुन्छ’ प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिने बताउदै भने ‘सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ । भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । स्थीर सरकारको अनुभूति गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’
उनले उद्योग वाणिज्य महासंघसंग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउदै विना सर्त मुलुक निर्माणमा जुट्न आग्रह गरे ।
व्यवसायीहरु संगको भेटमा प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन पनि आग्रह गरे ।
नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामान खपत हुने विश्वास दिलाए ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको परामर्श समूह बनाएरै अगाडि बढ्ने संकेत पनि दिएका छन् ।
भेटमा महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई अव आर्थिक समृद्धितर्फ अगाडी बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन ।
उनले मुलुक राजनीतिक रुपमा पूर्णत नयाँ संरचनामा रूपान्तरण भएकाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब जनताका मुहार उज्यालो बनाउने अभियानमा सरकार लाग्नु पर्ने सुझाव दिर्इन्।
उनले निर्वाचनको बेलामा राजनीतिक दलहरुले अगाडि सारेको आर्थिक समृद्धिको एजेण्डाबाट निजी क्षेत्र धेरै उत्साहित भएको पनि उल्लेख गरेकी थिइन् ।उनले सरकारको आर्थिक विकासको कार्यक्रममा निजी क्षेत्रले पूर्णत सहयोग गर्ने प्रतिवद्धता जनार्इन्।
राणाले उद्यमी व्यवसायीहरुले कर लगायत स्थानीय तहमा अहिले पनि निकै धेरै समस्या ब्योहोर्नुपरेको बताउँदै संघीय राज्य प्रणालीमा गएपछि कर लगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको बतार्इन्।उनले अबको दशकलार्इ समृद्ध नेपाल निर्माणको दशक घोषणा गर्नुपर्ने बतार्इन्।
भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायतको उपस्थिति रहेको थियो।