ललितपुर, १३ फागुन । प्रतिनिधि सभा,प्रदेश सभा र राष्टिय सभको निर्वाचन पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर सानेपा ललितपुरमा बस्दैछ ।
आजको बैठकले संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिले शनिबार तयार पारेको मस्यौदा अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
यसपूर्व वालुवाटारमा बसेको बैठक प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेद्वारहरुको चयन र राष्टिय सभाका उम्मेदवारहरुको चयनमा केन्द्रित भएर टुंगिएको थियो ।
सो बैठकमा यस बर्ष पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले निर्वाचन गराउदा पनि स्थानीय, प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय भएकोमा केन्द्रीय सदस्यहरुले बोलेका थिए ।
सो बैठकमा पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको संस्थापन पक्षले एक महिनाभित्र स्थानीय निकायका वडादेखिको प्रतिवेदन संकलन गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरी केन्द्रीय सदस्यहरुको आक्रोशलाई मत्थर पारेको थियो ।
त्यसपछि आजका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । तर अघिल्लो बैठकमा उल्लेख भए बमोजिमको निर्वाचनमा पराजयको कारण सहितको प्रतिवेदन तयार भएको भने छैन् ।
पार्टीको देनिक प्रशासन हेर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेल राष्टिय सभामा मनोनित गर्न तत्कालीन सरकारको शिफारीसमा पर्नुभएपनि राष्टपतिको कोपभाजनमा परेकोले उहाँले राष्टव्यापी प्रतिवेदन संकलन गरी परिष्कृत गर्ने समय पाउन सकेको देखिदैन ।
पार्टीको संस्थापन समूह आजको बैठकलाई जसोतसो टारेर केही लामो समयको अन्तरालपछि बेठक गर्ने तयारीमा छ । यसबीचमा आफ्नो अवस्था मजबूत गर्न सभापतिले केही जिल्लाहरुको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।
संस्थापन विरोधी समूह भने निर्वाचनमा पराजयको दोष पार्टी सभापतिलाई दिएर यही बेलामा पार्टीमा स्थिति मजबूत बनाउने रणनीतिमा देखिन्छ । यो समूहले केन्द्रीय समितिमा लिखित प्रतिवेदन सहित संस्थापनका कमजोरीहरु प्रस्तुत गर्ने उद्देश्यले बुद्धिजीवीहरुको श्रृखलाबद्ध तीन चारवटा भेला गरी पाटीलाई सशक्त बनाउने उपायका बारेमा सुझाव समेत संकलन गरेको छ ।तर देशव्यापी तस्वीर यसले पनि उतार्न भ्याएको छैन् ।
त्यसैले आजको बैठक केही हदसम्म एकापसमा आरोप प्रत्यारोपमा केन्द्रीत हुने र आक्रोश साम्य भएपछि राष्टपतिलाई हतियार बनाएर वर्तमान सरकारले नेपाली कांग्रेसलाई नैतिक र व्यवहारिक रुपमा कमजोर बनाउन चालेको राष्टिय सभा सदस्य मनोनयन सम्बन्धी विवाद, आसन्न संघीय संंसद र प्रदेश संसदमा पार्टीले उठाउने विषय, प्रदेशका सांसदलाई विधेयक निर्माण, संसदीय अभ्यास र परम्पराका बारेमा प्रशिक्षण, स्थानीय तहमा विजयी नेपाली कांग्रेसका प्रतिििनधिहरुलाई कार्यसम्पादनमा सघाउने रणनीति लगायतका सिर्जनात्मक कार्यका केन्द्रित हुने संभावना पनि छ ।
यस बाहेक पाटीलाई जीवन्त राख्न पार्टीका केन्द्रीय समिति र विभागहरुको गठन, भातृ संगठनहरुको क्रियाशीलता, भातृ र शुभेच्छुक संस्थाहरुको निर्वाचन, भातृ र शुभेच्छुक संस्थाको रुपमा मान्यता पाउन आवेदन गरेका पेशागत संस्थाहरुको मान्यताका बारेमा पनि छलफल हुने बताइएको छ ।
पार्टीका अन्य निकायलाई सक्रिय नपारिकन केवल अनुशासन समितिलाई मात्र सक्रिय बनाउदा यसले पूर्वाग्रही ढंगले केन्द्रदेखि स्थानीय तहको वडासम्म विरोधीलाई सखाप पार्ने जोखिम पनि छ । यसमा समेत संस्थापन र विरोधी समूहको ध्यान जान उत्तिकै आवश्यक छ ।
पार्टीको संस्थापन पक्षले संयम अपनाउन सकेन र एजेण्डाहरु लिखित रुपमा प्रस्तुत गरी बैठकलाई सही दिशामा लैजान सकेन भने बैठकमा चर्काचर्की हुने खतरा पनि उत्तिकै छ ।
यसको पूर्वाभ्यास हिजो पार्टीको संंसदीय दलको कार्यालय सिंहदरबारमा भएको प्रतिनिधि सभा र राष्टिय सभाका सदस्यहरुको संयुक्त बैठकमा भएको थियो ।
हिजोको बैठकमा संसदीय दलको नेतामा उम्मेदवारी दिने सार्वजनिक उद्घोष गरिसकेको नेता प्रकाशमान सिंह र पार्टी सभापति शेरबहादुर देउवाबीचमा पार्टी पराजित भएको अवस्थामा संसदीय दलको नेतामा सभापतिले दावी नगर्ने परम्पराका बिषयमा बहस हुँदा चर्काचर्की नै परेको थियो ।
केन्द्रीय समितिको बैठकमा पनि निर्वाचनमा भएको पार्टीको पराजयको नैतिक जिम्मेवारीको प्रश्न चर्को रुपमा उठने बताइन्छ ।