Prakash Adhikari August 23, 2021

बुटबल(रुपन्देही), ७ भाद्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उहाँको पक्षमा ४२ मत खसेको हो ।

उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्या ८० को हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सामूहिक बहिष्कार गरेकोले प्रस्तावको विपक्षमा कुनै मत खसेन भने एक जना तटस्थ रहनुभएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा सहभागी नभएका कारण सो प्रक्रियामै सामेल भएन ।

मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय पद्धति अन्तरगतको गठबन्धन सरकार बनाउनुभएको हो।

नेकपा एमालेले आफ्नो दलसंग सम्बद्ध भएका दुई सांसदहरुमाथि अनुशासनको कारबाही गरिएकोले उनीहरुलाई सांसदपदबाट निष्काशन गर्न माग गर्दै सो नगरेसम्म प्रदेश सभाको बैठक बहिष्कार गर्ने र सञ्चालन हुन पनि नदिने भन्दै विरोध गरेको थियो ।

 

Share Now

Leave a comment.