Prakash Adhikari August 25, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ९ भाद्र(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो दोहोर्‍याउनुभएको छ।

उहाँले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताउनुभयो।

तर उहाँले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गर्नुभएको छ ।

साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभएको छ।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गर्नुभएको थियो।

उहाँले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो।

तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्‍याइनुपर्ने उहाँको भनाइ छ।

“जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो”, राष्ट्रपति बाइडनले भन्नुभयो।

कतिपय अमेरिकी फौज फर्किइसकेको र त्यसले उद्धार कार्यलाई प्रभावित नपारेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ।

तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन्।

राष्ट्रपति बाइडनले ुहाम्रा मानिसहरूलाई बाहिर निस्कन सहयोग गर्न तालिबानहरूले कदम चालिरहेका छन्ु भनेका थिए।

तर उहाँले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहको जोखिमका कारण हवाई उद्धार चाँडै सम्पन्न गरिनुपर्ने बताउनुभयो।

यूके
उडानको सङ्ख्या बढ्दै गएको छ

अफगानिस्तानमा अमेरिकी बसाइँ लम्बिँदा उक्त समूहले आक्रमण गर्ने जोखिम उच्च हुने उहाँले बताउनुभयो।

बाइडन क्यानडा, फ्रान्स, जर्मनी, इट्ली, जापान, यूके र अमेरिका अनि इयू सम्मिलित जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा बोल्दै हुनुहुन्थ्यो ।

जी सेभेनका अरू साझेदारको भनाइ

यूके र अरू साझेदारहरूले थप उद्धार उडानहरू सुनिश्चित गर्न अगष्ट ३१ पछि पनि अमेरिकी फौज बस्नुपर्ने बताएका छन्।

बैठकको अध्यक्षता गनुभएका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले अन्तिम क्षणसम्म उहाँको देशले उद्धार कार्य जारी राख्ने बताउनुभयो।

उहाँले तालिबानहरूलाई अफगान नागरिकलाई समयसीमापछि पनि बाहिरिन अनुमति दिन अनुरोध गर्नुभयो।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लेयनले जी सेभेनका नेताहरूले अफगान नागरिकहरूलाई सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको भन्दै परिस्थितिले दिएसम्म सबै सम्भव हुने सहयोग गर्ने सहमति जनाएको बताउनुभएको छ।

काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजार भन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन्।

त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन्।

 

Share Now

Leave a comment.