काठमाडौं, ९ भाद्र । सत्तारुढ नेकपा माओवादी केन्द्रले लामो समयपछि आफ्नो संगठन जनस्तरमा पुर्याउने जमर्को गरेको छ।
सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले सांगठानिक संरचनामा भएका पदहरुमा जिम्मेवारी तोक्ने कार्य पूरा गरेको छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले पार्टी पुुनः अस्तित्वमा आएपछि माओवादीले पहिलो पटक सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ। जस अनुसार प्रदेश १ मा राम कार्की इन्चार्ज बन्नुभएको छ।
प्रदेश १ मा सहइन्चार्जमा सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ र अजम्बर काङमाङलाई जिम्मेवारी दिइएको छ भने प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईलाई दिइएको छ।
प्रदेश २ को इन्चार्जमा गणेश साहलाई दिइएको छ । प्रदेशको सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साह र महेन्द्र पासवानेलाई दिइएको छ । प्रदेश २ को अध्यक्ष र सचिव चयन गरिएको छैन।
माओवादीले बागमती प्रदेश इन्चार्जमा हितमान तामाङलाई जिम्मेवारी दिएको छ । सहइन्चार्जको जिम्मेवारीमा हितबहादुर तामाङ शशी श्रेष्ठ र सूर्य सुवेदी हुनुहुन्छ। वागमती प्रदेशको अध्यक्षमा नारायण दाहाल हुनुहुन्छ भने सचिव पद खाली राखिएको छ।
गण्डकी इन्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ । प्रदेशको सहइन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी तोकिनुभएको छ ।
लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी चक्रपाणि खनाललाई दिइएको छ । सहइन्चार्जको कार्यभार कुलप्रसाद केसी र हरिकुल्ला खानले सम्हाल्नु हुनेभएको छ । लुम्बिनी प्रदेश अध्यक्षमा ओनसरी घर्ती चयन हुनुभएको छ भने सचिवमा जगतप्रसाद शर्मा ।
माओवादीको कर्णाली इन्चार्जको जिम्मेवारी शक्ति बस्नेतलाई दिइएको छ भने सहइन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ। कर्णालीको अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यले जिम्मेवारी पाउनुभएको छ।
माओवादीको सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिनुभएको छ भने सहइन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरले जिम्मेवारी पाउनुभएको छ। यो प्रदेशमा माओवादीले अध्यक्ष र सचिव छान्न बाँकी नै छ।
माओवादीको विशेष समिति इन्चार्जमा लीलामणि पोखरेल तोकिनुभएको छ भने सहइन्चार्जमा केशव नेपाल, गंगा कार्की र पुष्पविक्रम मल्ल रहनुभएको छ। विशेष समितिको अध्यक्षमा लेखनाथ न्यौपाने तोकिनुभएको छ।
माओवादीले सम्पर्क समन्वय समिति इन्चार्जमा डिलाराम आचार्यलाई जिम्मेवारी दिएको छ भने सहइन्चार्जमा झक्कु सुवेदीलाई । समन्वय समितिको अध्यक्षमा सत्या पहाडी र सचिवमा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ।
प्रवास समितितर्फको इन्चार्जमा नारायणकाजी श्रेष्ठ तोकिनुभएको छ । यस समितिको सहइन्चार्ज तोकिएको छैन। यो समितिको अध्यक्षमा ओम शर्मा र सचिवमा टी.बी.पाठक तोकिएका छन्।
माओवादीले देशभरका जिल्ला समन्वय समितिको इन्चार्ज पनि तोकेको छ।
संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय लिएको थियो।




























