Prakash Adhikari August 28, 2021

काठमाडौं, १२ भाद्र । नेपालको राष्ट्रिय क्रिकेट टीम अहिले पपुवा न्युगिनीसंग दुई दिने एक दिवसीय अन्तर्राष्ट्रिय श्रृखला र विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नका लागि ओमान पुगेको छ ।

नेपाली राष्ट्रिय टीम महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलको तयारी गरिरहेकै बेला टीमका प्रशिक्षक डेभ ह्वाटमोरले भने ती प्रतियोगितापछि आफू प्रशिक्षकको जिम्मेवारीबाट हट्न चाहेको बताउदै नेपाल क्रिकेट संगलाई राजिनामा दिने जानकारी इमेलमार्फत गराउनुभएको छ ।

ह्वाटमोरले क्यानलाई पठाएको पत्रमा उल्लेख गरिएको छ,“ओमानमा सेप्टेम्बर १९ सम्म चल्ने विश्वकप लिग-२ सकिएलगत्तै नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजिनामा दिना यो पत्रमार्फत जानकारी गराउन चाहन्छु। निकै सोचविचार गरेर मैले यो निर्णय लिएको हुँ जुन निर्णयमा पुग्न मैले गहिरो चिन्तन गरेको थिएँ।”

आफ्नो राजिनामा पत्रमा प्रशिक्षक ह्वाटमोरले महामारीको समयमा परिवारबाट टाढा रहेर बस्दा मनमा अधैर्य उत्पन्न भएको उल्लेख गरे पनि वास्तविकता त्यस्तो नभएको विकेटनेपाल डट कमले उल्लेख गरेको छ ।

विकेटनेपालका अनुसार व्हाटमोरले पुनः भारतको बरोडा रन्जी टिमको मुख्य प्रशिक्षण पद सम्हाल्ने तयारीमा हुनुहुन्छ। यो वर्ष मार्चमा नै भारतीय मिडीयाहरुले व्हाटमोर आगामी सिजन बरोडाको प्रशिक्षणको लागि आउने बताएका थिए।

क्यान चकित

व्हाटमोरको राजिनामापछि क्यानले बिज्ञप्ति जारी गर्दै व्हाटमोरको राजिनामा अप्रत्यासित भएको बताउदै चकित पारेको बताएको छ।

“प्रशिक्षक व्हाटमोरको अचानक राजिमानाबाट नेपाल क्रिकेट संघ चकित छ। उहाँले व्यक्तिगत कारण देखाउदै ओमान भ्रमण पछि तुरुन्त लागु हुने गरि राजीनामा घोषणा गर्नुभएको छ। उहाँले यो वर्षको सुरुवातमा क्यानसंग एक वर्षे अनुबन्ध गर्नुभएको थियो।” विज्ञप्तिमा उल्लेख छ।

प्रशिक्षक व्हाटमोरको राजिनामा पछि क्यान अध्यक्ष चतुर बहादुर चन्दले यसमा पुनर्विचार गर्न संघले कुराकानी गर्ने प्रतिक्रिया दिनुभएको छ।

चन्दका अनुसार व्हाटमोरले आफ्नो एजेन्टमार्फत पठाएको इमेलमा उनले राजिनामा दिनुको पछाडी पारिवारिक कारण उल्लेख गर्नुभएको छ।

गत वर्ष डिसेम्बरमा प्रशिक्षक नियुक्त भएपछि व्हाटमोरको झन्डै ९ महिना प्रशिक्षणकालमा नेपालले एउटा मात्र प्रतियोगिता खेलेको थियो।यो वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसियासंग खेलिएको टि-२० अन्तर्राष्ट्रियमा नेपालले उत्कृस्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो। उक्त सिरिजमा नेपालले ब्याटिंगमा निकै सुधारिएको प्रदर्शन तथा खेल शैलीनै परिवर्तन गरेपछि व्हाटमोरको चौतर्फी तारिफ भएको थियो।

६७ वर्षीय प्रशिक्षकको प्रशिक्षणकालमा नेपालले ओमानमा पहिलो पटक एकदिवसीय खेल्नेछ। पपुवा न्यु गिनीसंग दुई वटा ( सेप्टेम्बर ५ र ८ ) एकदिवसीय अन्तर्राष्ट्रिय र त्यसपछि ओमान र अमेरिकासंग ( सेप्टेम्बर १३ देखि २० सम्म) त्रिकोणात्मक सिरिज खेल्नेछ। पहिलो एकदिवसीय भ्रमणनै नेपालको लागि उनको अन्तिम प्रतियोगिता हुनेछ।

व्हाटमोर गत वर्ष डिसेम्बरमा एक वर्षको लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो। उहाँको कार्यकाल सकिन अझै ४ महिना बाँकी रहेको छ।

पारसको लागि मैदान खुला

पपुवा न्यु गिनी र ओमान तथा अमेरिकासंगको त्रिकोणीय एक दिवसीय श्रृखलाको नतिजा कस्तो निस्कन्छ यो यसै अनुमान गर्न कठिन छ ।

तर नेपाली टिम प्रशिक्षणमा बस्ने समयमा नेपाली टिमका पूर्व कप्तान पारस खड्काले अचानक अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने घोषणा गर्नुभयो । टीमको एक भरपर्दो र अनुभवी र परिपक्व खेलाडीले लिएको अप्रत्यासित निर्णयले प्रशिक्षक ह्वाटमोरलाई अप्ठ्यारो पारेको पनि हुन सक्छ । पारसबाहेकको टिमबाट अपेक्षित नतिजा निकाल्न आफूलाई कठिन हुने महसुस गदै उहाँ यो निर्णयमा पुगेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

अर्कोतिर ह्वाटमोरलाई हटाएर पारस खड्कालाई राष्ट्रिय टिमको प्रशिक्षक बनाउने समूह पनि क्यानमा सक्रिय रहेको बताइएको छ ।

मैदानमा खेल खेल्नु र हरेक खेलाडीको खेलको स्तरका कमी कमजोरी पत्ता लगाएर तिनलाई हटाउदै उत्कृष्ट खेलाडी बनाउने प्रशिक्षण दिनुका साथै टिममा सामूहिक भावना विकसित गराउने विषय नितान्त फरक कुरा हुन् ।

पारस खड्काकै कप्तानीमा एक दिवसीय मान्यता पाएको नेपाललाई यो स्तरमा टिकाउन उच्च स्तरको प्रशिक्षक जरुरी हुन्छ कि पारसले नै यो बेडा पार लगाउन सक्नुहुन्छ यसै भन्न सकिदैन । प्रशिक्षकको रुपमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले टीम अबुधावी टी १० को गत सिजनको प्रशिक्षकको भूमिका पाउनुभएको थियो । ओडिआईको स्तर कायम राख्न त्यतिको अनुभव पर्याप्त हुन्छ कि थप चाहिन्छ यो क्रिकेट संघले विचार गर्ने विषय हो ।

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएको घोषणा गर्दा र त्यसपहिले पनि आफू क्रिकेटको अन्य भूमिका र नेतृत्वमा आउन इच्छुक रहेको बताउनुभएको थियो । क्रिकेटको नेतृत्व भन्नाले क्रिकेट खेललाई व्यवस्थित गर्न स्थापना गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले मान्यता दिएको नेपाल क्रिकेट संघको नेतृत्वलाई जनाउछ ।

क्रिकेट खेलको संस्थागत विकासको लागि क्रिकेट जस्तो अन्तर्राष्ट्रिय ख्याती र पैसा,प्रतिष्ठा भएको खेलको महत्व बुझेको र राजनीतिक हावा लाग्न नदिने, हुन नदिने सदाचारी इमान्दार र यस खेलका प्राविधिक र अन्य पक्ष बुझेको तथा खेलाडीहरुलाई सम्मान गर्दै तिनको प्रतिभा विकसित गराउने र अवसर दिने नेतृत्वको आवश्यकता पर्दछ । ती सबै गुण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिनुभएका पूर्व कप्तान पारसमा विद्यमान छन् ।

Share Now

Leave a comment.