काठमाडौं, १५ भाद्र । अफगानिस्तानबाट अमेरिकी फौज पूर्णरुपमा फिर्ता भएसंगै त्यहाँ रहेका नेपालीहरु आज रातिसम्मछनेपाल फर्किसक्ने अपेक्षा सरकारले गरेको द्ध।
परराष्ट्र मन्त्रालयले त्यहाँको सत्ता कब्जा गरेको तालिबानीले पनि अमेरिकाले निर्धारण गरेको उद्धार र स्वदेश फिर्तीको समयरेखालाई सम्मान गरेकोले आज रातिसम्म त्यहाँबाट सबै नेपालीलाई उद्धार गरिसक्ने जनाएको छ।
मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव भएसम्म काठमाडौं आइपुग्ने र नभए अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्।
अफगानिस्तनाबाट हालसम्म ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। अव झन्डै २ सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्।
परराष्ट्र मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा व्यक्ति स्वयलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।
नेपाल फर्किएका सबै नेपाली नागरिकहरुलाई सामाखुसीस्थित राधास्वामी सत्संघको क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ ।
यस पटक सशस्त्र विद्रोही तालिबान समूहले अफगानिस्तान कब्जा गरेको त्रासदीपूर्ण
स्थितिमा पनि सरकारले त्यहाँ उद्धार उडान सञ्चालन नगरेर विभिन्न देशमा रहेका नेपाली राजदूतावास, नेपालसंग कुटनीतिक सम्बन्ध भएका र अफगानिस्तानमा सम्पर्क कार्यालय रहेका देशमा राजदूतावास, सम्बन्धित नियोग र विदेशी संघ संस्थाको पहल र आर्थिक सहयोगमा नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने कार्यको समन्वय गरिरहेको छ ।


















