Prakash Adhikari August 31, 2021

काठमाडौं, १५ भाद्र । दक्षिण एशियाको टापु राष्ट्र श्रीलंकाको सरकारी हवाई सेवा श्रीलंकन एअरलाइन्सले आजदेखि कोलम्बोबाट काठमाडौंमा सिधा उडान गर्ने भएको छ।

एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो।

श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ।
क्यानका अनुसार श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ।

बौद्ध धर्माबलम्बीहरुको बाहुल्य रहेको श्रीलंकाको उक्त एयरलाइन्सले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी निकट रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ।

भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन।

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार भ्रमण, व्यापार र रोजगारीका लागि श्रीलङ्का जाने नेपाली र नेपाल आउने श्रीलंकाली नागरिकहरुलाई लक्षित गरेर उडान सुरु गरिएको हो । यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।

श्रीलंकन एअरलाइन्सलाई क्यानले नियमित उडानको लागि २०६१ सालमा पनि अनुमति दिएको थियो । तर पहिलो उद्घाटन उडान गर्ने दिन भदौ १६ गते नै वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको त्यहाँको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममतापूर्वक हत्या गर्योे ।

राजधानी काठमाडौ लगायत मुख्य शहरहरुमा भएका वैदेशिक रोजगार कम्पनी र तिनका एजेन्टहरुमाथि खोजी खोजी आक्रमण भयो । देशमा कर्फ्यु लाग्यो । नेपालको सुरक्षा अवस्था खराब हुन गएकोले नेपालको कार्यालय खोल्ने र समुद्घाटन उडान गर्ने कार्यक्रम स्थगित भयो । मुख्य पर्यटकीय सिजनमा भएको त्यो त्रासदीपूर्ण घट्नापछि १७ बर्षसम्म स्थगित हुनपुगेको श्रीलंका र नेपाल जोड्ने श्रीलंकन एअरलाइन्सको प्रयास बल्ल साकार हुन लागेको छ ।

श्रीलंकन एअरलाई नेपालमा नियमित उडान गरी दुई देशबीच पर्यटकीय सम्बन्ध निकट बनाउन पर्यटन व्यवसायी जय देवानले निरन्तर प्रयास गर्नुभएको थियो ।

श्रीलंकन एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ।

Share Now

Leave a comment.