Prakash Adhikari August 31, 2021

काबुल(अफगानिस्तान), १५ भाद्र (बीबीसी) । संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ।

उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताउनुभयो।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भन्नुभयो, ूहमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए।ू

म्याकेन्जीले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताउनुभयो।

अन्तिम क्षण
अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाद्‌दाता लिज डुसेटका अनुसार बाहिरिन लागेका अमेरिकी फौज र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमने सामने भएका थिए।

अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्कन लागेपछि ती तालिबान दस्ता विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आइरहेका थिए।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताउनुभएको थियो।

अमेरिकी फौज

पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्नुहुने भएको छ।

उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै राष्ट्रपति बाइडनले मानवीय सहयोग र अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि तालिबानहरूसँग निरन्तर रूपमा कूटनीतिक तहबाट वार्ता गरिनुपर्ने उल्लेख गर्नुभएको छ।

अघिल्लो साता इस्लामिक स्टेट खोरोसान समूहको आक्रमण बेहोरेको काबुल विमानस्थलमा सोमबार पनि बारम्बार रकेट हमला गरिएका थिए।

अमेरिकी सेनाले गरेको एउटा ड्रोन आक्रमणमा आइतबार ६ बालबच्चा सहित १० जना मारिएको उनीहरूका आफन्तहरूले बताइरहेका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विमानस्थलका गैरसैनिकमाथि हुनसक्ने आक्रमण रोक्न आफूले ड्रोन हमला गरेको भन्दै ती विवरणको अनुसन्धान गरिरहेको जनाएको छ।

पेन्टागनको पत्रकार सम्मेलनमा जनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केही पछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गर्नुभएको थियो।

तर हाल तोकिएको समयसीमाभित्र उद्धार हुन नसकेका व्यक्तिहरूको कूटनीतिक ढङ्गबाट उद्धार प्रयास जारी राखिने उहाँले उल्लेख गर्नुभयो।

स्वतन्त्रता कि अनिश्चितता

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले एउटा प्रस्ताव पारित गर्दै पश्चिमा युद्ध प्रयासलाई समर्थन गर्ने अफगानहरूलाई देश छाड्न दिने सहितका प्रतिबद्धता तालिबानले पालना गर्ने अपेक्षा गरेको छ।

उक्त प्रस्तावमा प्रतिआतङ्कवाद, मानवअधिकार र मानवीय सहायता अनि अफगानिस्तानको नयाँ चरणलाई समर्थन गर्ने केही निश्चित सर्तहरू उल्लेख गरिएका छन्।

तालिबान

चीन र रुस मतदानमा अनुपस्थित भएका थिए।

अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन्।

तर काबुलस्थित बीबीसी संवाद्‍दाताका अनुसार ४ करोड जनसङ्ख्या भएको अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु भएको छ।

अमेरिकाको सर्वाधिक लामो युद्ध अन्त्य भएको भएपनि अफगानहरूको दैनिक सङ्घर्ष अन्त्य भएको छैन। कैयौँ अफगानहरू तालिबानबाट बदलाभाव राखिने भन्दै चिन्तित रहेको उल्लेख गर्दै बीबीसी सम्बाददाताले तालिबानका समर्थकहरूले इस्लामवादी राज्यको स्थापनाको माग गर्ने बताउनुभएको छ।

Share Now

Leave a comment.