काठमाडौं, १८ भाद्र । महाकाली नदीवारि रहेको नेपाली बस्ती र नेपाली सेनाको ब्यारेकभन्दा माथिको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर पटकपटक उडेको घट्नामा जिल्ला प्रशासन कार्यालय दार्चुलाले र सीमावर्ती भारतीय जिल्लाका समकक्षीसंग कारणको माग गरेको छ र संघीय सरकार भने यो विषयमा पनि अलमलमा परेको देखिएको छ ।
गृहमन्त्रालयले यसै साता उडान गरेका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली निकायहरूसँग थप जानकारी सङ्कलन गरिरहेको जानकारी दिएको छ।
दार्चुलास्थित सुरक्षा समितिले उक्त घटनाक्रमबारे गृह मन्त्रालयलाई बिहीवार नै जानकारी गराएको थियो।
तर गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले उक्त घटनाबारे आफूहरूले बुझिरहेको र त्यस सम्बन्धी समाचार विवरणहरूलाई गम्भीरतापूर्वक लिएको बीबीसीलाई बताउनुभयो।
आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरिएको भएपनि शुक्रवार अपराह्नसम्म कुनै जवाफ प्राप्त नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभएको छ।
गम्भीर घटना
अर्काको देशको आकाशमा बिना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत मानिन्छ।
तस्बिरको क्याप्शन,
दार्चुलामा स्थानीय बासिन्दाले हेलिकोप्टर उडेका फोटो र भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेका छन्
अझ नेपालको राष्ट्रिय सेनाको ब्यारेक माथिको आकाशमा नै उडान भएपछि कैयौँ विज्ञहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखिरहेका छन्।
दार्चुलाको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको भन्दै गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भन्नुभयो, “यो गम्भीर घटना हो हामीले यत्रो पत्रपत्रिकामा आएको देखिरहेका छौँ। हामीले यसबारेमा पहिला हाम्रो निकायसँग बुझ्दैछौँ।”
नेपाल भारत सीमा क्षेत्रमा हालैका दिनमा भएका यस्ता घटनाबारे बेलैमा भारतसँग कूटनीतिक माध्यमबाट आवाज उठाउन नसकेको आरोप सरकारमाथि लागिरहेको छ।

नेपाल – भारत
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भन्नुभयो, “हामीले यसरी जानकारी बिना हाम्रो आकाशमा हाम्रो सुरक्षा निकायको माथि नै किन हेलिकोप्टर उडाइयो यसरी नउडानुहोला भनेर उडिसकेपछि पिथौरागढको भारतीय पक्षलाई पत्राचार गरेका छौँ। यससम्बन्धी जानकारी हामीले गृह मन्त्रालयलाई पनि गराएका छौँ। भारतीय पक्षबाट कुनै जवाफ आएको छैन्। गृहमन्त्रालयसँग हामी यसबारे सम्पर्कमै छौँ।”
भारतीय हेलिकोप्टरले बुधवार र बिहीवार दुवै दिन तीन चार पटक त्यसरी नेपाली आकाशमा बिना अनुमति उडान गरेको उहााले बताउनुभयो।
ूहामीले बुझ्दा खेरी उनीहरूले बाढी पहिरोका पीडितका लागि खाद्य सामग्रीहरू ढुवानी गरिरहेको छ भन्ने जानकारी आएको छ। यो मौखिक जानकारी हो। हाम्रो सुरक्षाकर्मीहरू र आफ्ना समकक्षीहरूबीच कुराकानी भइराख्छ।ू
तर खाद्यान्न ढुवानी गर्नका लागि नेपाली आकाशमा हेलिकोप्टर किन उड्यो भन्ने जवाफ नआएको उहाँले खुलाउनुभयो।
नेपाली आकाशमा उडेको हेलिकोप्टर गैर सैनिक हेलिकोप्टर जस्तो देखिए पनि त्यसबारे अधिकारिक रूपमा केही भन्न नसकिने अधिकारीहरूले जनाएका छन्।
जवाफको प्रतीक्षा
दार्चुलामा महाकाली नदीले नेपाल र भारतको सीमा क्षेत्रलाई छुट्याउँछ।
जटिल भूबनोट भएको उक्त क्षेत्रमा नेपाल र भारतबीचको विवादित कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पनि पर्छ।
महाकाली नदीमा कैयौँ ठाउँहरूमा साँघुरो घाँटी भएकाले विगतमा पनि अनुमति नै नलिइ हवाई क्षेत्रमा प्रवेशका घटनाहरू हुने गरेका जानकारहरू बताउँछन्।
प्रमुख जिल्ला अधिकारी जोशी थप्नुहुन्छ, “यसपटक हाम्रो सदरमुकामको माथि उडान भरेको हो। हाम्रो सीमा महाकाली नदी हो। त्यो १०० सय मीटर दूरीमा छ। कतिपय बेला विगतमा यसरी हेलिकोप्टर आउँदा हामीले पनि पत्राचार गरेका छौँ र त्यति बेला कहिलेकाहीँ नयाँ पाइलट परेर उसलाई जानकारी नभएको र मोड्न नसकेको अवस्थामा यस्तो भयो होला भन्ने किसिमको जवाफ हामीले उताबाट पाएका छौँ। यसपालि जवाफ आएको छैन। हामी जवाफको प्रतीक्षामा छौँ।”
भारतीय सीमा सुरक्षा निकाय एसएसबीले ूतुइन काटिदिएपछि दार्चुलाको सदरमुकाम खलङ्गा आउन लागेका नेपाली जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएकोू भनेर ठूलो चर्चा पाइरहेको घटना सेलाउन नपाउँदै यो नयाँ विवाद सतहमा आएको हो।(बीबीसीबाट)


















