काठमाडौं, १८ भाद्र । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ।
एमाले फुट्ने अन्तिम घडीसम्म एकताका लागि पहल गरिरहेको बताउँदै आउनुभएका गौतमले शुक्रवार आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएको उहाँका स्वकीय सचिव दिपक टमाटाले बताउनुभएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाउनुभएको छ।
राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ।
राजीनामाको कारण
राजीनामा पत्रमा लेखिएको छः ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोलेआजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।’
आफ्नो भावी कदमबारे गौतमले केही उल्लेख गर्नुभएको छैन।
ओली सँगको चार दशक लामो मित्रता भविष्यमा पनि रहिरहने अपेक्षा उहाँले गर्नुभएको छ।
यसअघि नेकपा एमाले विभाजित भएपछि नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको उक्त दलमा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल पनि सहभागी भैसक्नुभएको छ।
गौतमले आफ्नो राजीनामा पत्रमा उक्त दलमा जाने वा नजाने नखुलाए पनि पार्टी अध्यक्ष ओलीको कार्यशैलीको चर्को आलोचना गर्नुभएको छ।
साथै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत आफ्ना ‘स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग’ गरेको उल्लेख गर्नुभएको छ।
यसअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले गौतमको दल प्रवेशबारे कुराकानी चलिरहेको सञ्चारमाध्यमहरूलाई बताउनुभएको थियो।
नेता गौतमले पनि नेपाल पक्षले नयाँ पार्टी गठन गरे आफ्नो साथ रहने बताउनुभएको विवरण आएका थिए।
एमालेको पछिल्लो विभाजनका क्रममा नेता नेपाल पक्षका दोस्रो तहका नेताहरूले अन्तिम घडीमा साथ छोड्नुभएको थियो।(बीबीसीबाट)


















