मस्कट(ओमान), २१ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी अभ्यासको क्रममा ओमानमा घाइते भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप लिग २ अन्तर्गत सेप्टेम्बर १३ देखि २० तारिखसम्म ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज र त्यसअघि सेप्टेम्बर ७ र १० तारिखमा पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि अभ्यास गर्ने क्रममा ओमानमा पुगेको छ।
अभ्यास खेलकै क्रममा उपकप्तान ऐरी घाइते भएका हुन्।
आइतबार बेलुका अभ्यासको क्रममा ऐरीको खुट्टामा चोट लागेको थियो। उनको गोडा मर्किने वा सड्किने मात्र भएको हो वा लिगामेण्ट टियर भएको हो भन्ने एकिन भएको छैन, सोमबार अधिकारिक रिपोर्ट आएपछि चोटको अवस्था थाहा हुने बताइएको छ।
चोट गम्भीर नेपाली उपकप्तान ऐरीले पपुवा न्युनिगीसंग खेलिने एक दिवसीय खेलहरु गुमाउन सक्ने बताइन्छ ।
ऐरीले खेल गुमाएमा उनको स्थान आरिफ शेख, रोहित पौडेल जस्ता ब्याट्सम्यानले लिन सक्नेछन्। र अलराउण्डर पवन सर्राफ पनि आउन सक्छन।
ओमान भ्रमणमा नेपालले १७ सदस्यीय टोली लगेको छ।
ओमान भ्रमणमा रहेको १७ सदस्यीय नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्ल , उपकप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा छन् ।
नेपाल र पपुवा न्यु गिनी बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सेप्टेम्बर ७ तारिखमा (११ः१५ बजे नेपाली समय तथा ओमान समय ९ :३० बजे बिहान) सुरु हुनेछ। यस्तै दोश्रो खेल सेप्टेम्बर १० तारिखमा डे नाइट हुनेछ जुन नेपाली समय ४ : १५ बजे तथा ओमान समय २ :३० बजे दिउसो सुरु हुनेछ।
खेलहरु ओमान क्रिकेट एकेडेमी मैदानमा हुने भएका छन्।
नेपालले विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल अमेरिकासंग सेप्टेम्बर १३ तारिखमा खेल्नेछ। खेल नेपाली समय ४ :१५ बजे बेलुका तथा ओमान समय २ :३० बजे दिउसो सुरु हुनेछ।
सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ।
सबै खेलहरु नेपाली समय ४ः१५ बजे बेलुका र ओमान समय २ः३० बजे दिउसो सुरु हुनेछ। लिग २ अन्तर्गत नेपालको खेलहरु एक्सन स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रशारण हुने छन्।


















