Prakash Adhikari September 6, 2021

काठमाडौं, २१ भाद्र । नेपालको राजधानी काठमाडौं रहेको बागमती प्रदेशसहित पाँच वटा प्रदेशमा हिजो बेलुकादेखि निरन्तर पानी परिरहेको छ ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशका प्रदेश १, प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका ठाउँठाउँमा मेघ गर्जनसहित बर्षा भइरहेकोले ती स्थानमा बाढी र पहिरो जानसक्ने तथा तराईका क्षेत्र डुबानमा समेत पर्न सक्ने भएकोले पसतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले जनाए अनुार हाल नेपालमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।

महाशाखाले प्रकाशित गरेको मौसम बुलेटिनमा जनाइएको छ, “हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।”

महाशाखाले जनाए अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै भरे राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागकै बाढी पूर्वानुमान महाशाखाले आज विहान प्रकाशित गरेको बुलेटिनमा जनाइए अनुसार बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले आज दिउँसो सम्मै उच्च सतर्कता अपनाऔ।

आज बिहान ५ ३० बजे प्रकाशित बुलेटिनमा हाल काठमाडौँ उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि बर्षा भइरहेको र थप हुने रहेकोले,उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने,केहि साना नदीनालाको पानी सडक किनारसम्म आउन सक्ने भएकोले किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी सर्तकता सम्बन्धी सूचनामा आज सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स(साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटिय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

त्यस्तै चितवन जिल्ला माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन,सो क्षेत्र भईबहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै बिहान ६ ः ३० बजे प्रकाशित सूचनामा बाँके जिल्लाको धकेरी लगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको र थप वर्षाको सम्भावना,सो क्षेत्र भएर बहने साना नदीमा एक्कासी बाढी आउन सक्ने,नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

Share Now

Leave a comment.