Prakash Adhikari September 6, 2021

काबुल(अफगानिस्तान), २१ भाद्र(बीबीसी) । तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ।

‘यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ’, तालिबानका एक प्रवक्ताले भन्नुभएको छ।

तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) ले तालिबानको दाबीको खण्डन गरेको छ।

ूयो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएका छैनन्। म तालिबानको दाबीको खण्डन गर्छु,ू एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसग भन्नुभएको छ।

उक्त समूहको ट्विटरमा भनिएको छः ‘एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ।’

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको द्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ। बीबीसीले तिनलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

वार्ताको चर्चा

यसअघि तालिबानविरुद्ध युद्ध गरिरहेको प्रतिरोधी समूहका नेताले आफू शान्तिवार्ताका लागि तयार भएको बताउनुभएको थियो।

वार्ताबाट समाधान खोज्न धार्मिक नेताहरूले ल्याएको एउटा प्रस्तावप्रति आफू सकारात्मक भएको जनाउ दिँदै अहमद मसूदले तालिबानलाई आफ्नो आक्रमण रोक्न आह्वान गर्नुभएको हो ।

विरोधीहरूको गढ मानिएको पन्जशिरमा तालिबान तीव्र गतिमा बलियो बन्दै गरेको विवरण आएको थियो।

पन्जशिर

पन्जशिर

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ।

तालिबानले तीन साताअघि अफगानिस्तानका बाँकी भाग र पश्चिमा राष्ट्रहरूले समर्थन गरेको सरकार धराशायी भएपछि अगस्ट १५ मा राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएको थियो।

तालिबानले आक्रमण गर्न रोक्ने हो भने आफ्नो नेतृत्वमा रहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) पनि लडाइँ रोक्न तयार हुने अहमद मसूदले फेसबुकमा लेख्नुभएको छ।

तालिबानको प्रतिरोध गर्ने एनआरएमा अफगान सुरक्षा निकाय काम गरेका पूर्वसुरक्षाकर्मी र स्थानीय लडाकु छन्।

संयुक्त राष्ट्रसङ्घका मार्टिन ग्रिफिथ्ससँग काबुलमा तालिबान नेताहरू

संयुक्त राष्ट्रसङ्घका मार्टिन ग्रिफिथ्ससँग काबुलमा तालिबान नेताहरू

हिमाली भेगमा रहेको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिस बस्छन्।

यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन।

सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो।

स्थानीय कबिलाका नेता अमहम मसूदले अहिले तालिबानविरुद्धको सङ्घर्षको नेतृत्व गरिरहेका छन्। यसअघि उनका पिताले सोभियत सेना र तालिबानको प्रतिरोध गरेका थिए।

तालिबानविरुद्ध उभिएको अफगानिस्तानको एक मात्र प्रान्त

आइतवार एनआरएफका दुई वरिष्ठ नेताहरू मारिएका थिए।

एआरए‌फका अनुसार एक प्रवक्ता फाहिम दाश्ती र कमान्डर जेनरल अब्दुल वुदोद जाराको सङ्घर्षका क्रममा मृत्यु भएको थियो।

उसले तालिबानका एक महत्त्वपूर्ण सैन्य अधिकारी र उहाँका १३ अङ्गरक्षकको पनि मृत्यु भएको दाबी गरेको छ।

तालिबानले चाँडै नयाँ सरकार घोषणा गर्न लागेको हुनाले विदेशी शक्तिहरू तालिबान प्रशासनसँग कसरी व्यवहार गर्ने भनेर विचार गरिरहेका छन्।

२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम

२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम

  • सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
  • सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
  • सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
  • सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
  • सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा ‘शान्ति ल्याउने सम्झौता’ मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
  • सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
  • सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
  • सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा

तालिबानको सत्तामा उदय

पाश्तो भाषामा तालिबानको अर्थ विद्यार्थीहररु भन्ने हुन्छ।

अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्तिसुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा गर्‍यो।

तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।

त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे।

रब्बानी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ विधर्मीहरूसँग लड्ने योद्धाहरू तयार पार्ने संस्थापकमध्ये एक हुनुहुन्थ्यो।

सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे।

तालिबान

तालिबान
सोभियत सेना धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो।

तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने ( उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने ( नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो।

तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए।

उनीहरूमाथि विभिन्न मानवाधिकार उल्लङ्घन र सांस्कृतिक दुर्व्यवहारका आरोप छन्।

तीमध्ये एउटा नराम्रो उदाहरण भनेको अन्तर्राष्ट्रिय निन्दाबीच सन् २०११ मा जब उनीहरू मध्यअफगानिस्तानस्थित प्रसिद्ध बामियान बुद्धको प्रतिमा ध्वस्त पार्न अघि बढ्नु थियो।

पाकिस्तानले आफू तालिबानको सूत्रधार भएको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ।

तर सुरुमा तालिबानसँग आबद्ध भएका धेरै अफगानहरू पाकिस्तानका मदरसाहरूमा अध्ययन गर्नेहरू भएकोमा थोरै द्विविधा छ।

तालिबान सत्तामा रहेका बेला उनीहरूलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो।

तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै थियो।

एउटा बिन्दुमा तालिबानले आफूले नियन्त्रण गरेको पश्चिमोत्तर क्षेत्रबाट पाकिस्तानलाई अस्थिर तुल्याउने धम्की दियो।

अन्तर्राष्ट्रिय रूपमै धेरै निन्दा गरिएको एउटा घटना थियो ( पाकिस्तानी तालिबानहरूले सन् २०१२ को अक्टोबरमा गरेको हमला जब स्कूले छात्रा मलाला युसुफजाई आफ्नो गृहनगर मिङ्गोरा फर्किँदै थिइन्।

पाकिस्तानको पेशावरस्थित एउटा विद्यालयमा भएको नरसंहारको दुई वर्षपछि एउटा महत्त्वपूर्ण सैन्य कारबाहीपछि पाकिस्तानमा सो समूहको प्रभाव कम भयो।

तालिबान नेता मुल्लाह ओमारको सन् २०१३ मा मृत्यु भएको ठानिन्छ

तालिबान नेता मुल्लाह ओमारको सन् २०१३ मा मृत्यु भएको ठानिन्छ

सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।

न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो।

त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अलकायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो।

सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्‍यो।

अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए।

तालिबान

तालिबान

अलकायदालाई आश्रय
विश्वै ठूलामध्ये एउटा मानवखोजी अभियानबीच समूहका तत्कालीन नेता मुल्लाह मोहम्मद ओमार र ओसामा बिन लादेनसहित केही उच्च नेताहरू उम्किन सफल भएको बताइन्छ।

तालिबानका कैयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिनुभयो जहाँबाट उहाँहरूले सो समूहलाई मार्गनिर्देशित गर्नुभयो।

तर क्वेटा शुराको अस्तित्वलाई इस्लामाबादले अस्वीकार गर्‍यो।

ठूलो सङ्ख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले अवस्था सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रूपमा विस्तार गर्दै लग्यो।

सन् २०१२ को सेप्टेम्बरमा उनीहरूले काबुलमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमण गरे।

तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो।

तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो।

सन् २०१५ को अगस्टमा तालिबान समूहले मुल्लाह ओमारको मृत्यु भएको कुरा दुई वर्षभन्दा बढी समय लुकाएको स्वीकार गर्‍यो।

अस्वस्थताका कारण पाकिस्तानस्थित एउटा अस्पतालमा उहाँको मृत्यु भएको बताइन्छ।

त्यसको अर्को महिना तालिबानले आन्तरिक किचलोलाई पाखा लगाउँदै समूहका नयाँ नेता मुल्लाह मन्सुरलाई स्वीकारेको बतायो।

मुल्लाह मन्सुर मुल्लाह ओमारका सहायक हुनुहुन्थ्यो।

लगभग सोही समयमा तालिबानले सन् २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गर्‍यो।

त्यो थियो रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको कुन्दुज सहर।

मुल्लाह मन्सुर सन् २०१६ को मे महिनामा एउटा अमेरिकी ड्रोन हमलामा मारिएपछि समूहका नेता मौल्वी हिबातुल्लाह अखुन्दजादा हुनुभयो ।

फिर्तीको दिनगन्ती

फेब्रुअरी २०२० को अमेरिका(तालिबान शान्ति सम्झौतापश्चात्‌ तालिबान समूहले आक्रमणको रणनीति फेरेको देखिन्छ।

उनीहरूले सहर तथा सैनिक संरचनाहरूमा जटिल आक्रमण गर्नुभन्दा लक्षित हमला गर्न थाले।

लडाकुहरूले पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निसाना बनाउने गरेका छन्।

त्यसले तालिबानहरूले आफ्नो अतिवादी सिद्धान्त नभई रणनीति मात्रै परिवर्तन गरेको देखाउँछ।

अन्तर्राष्ट्रिय समर्थनबिना सरकारको कमजोर अवस्थालाई लिएर अफगान अधिकारीहरूको गम्भीर चिन्ताबीच अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा अमेरिकी फौजको फिर्ती प्रक्रिया टुङ्ग्याउने घोषणा गत एप्रिलमा गर्नुभएको थियो।

तालिबानको काबुल यात्रा

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको थालनी
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
  • ३१ अगस्टः अमेरिकी सेना पूर्ण रूपमा फर्कियो
Share Now

Leave a comment.