काठमाडौँ, २३ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाउनुभयो ।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।” उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।
संसदीय दलको विधान पारित
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ ।
यही भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहनुभएको थियो ।


















