काठमाडौं, २४ भाद्र । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच सम्झोता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
उपाध्यक्ष फतिमाको टोलीले आजैबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उहाँ भक्तपुर बालकोटस्थित निवासमा पुग्ने र त्यसपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।
भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँगको भेट भोली ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।
सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५०० मिलियन डलर अर्थात हालको विनिमय दर अनुसार ५८ अर्ब ७५ करोड जति रुपैया सहयोग प्राप्त हुनेछ ।


















