काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले देखाउनुभएको प्रजातान्त्रिक समाजवादको समाजवादको माध्यमबाट नेपाललाई समुन्नतिको शिखरमा पु¥याउन सकिने बताउनुभएको छ ।
कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले सो प्रतिबद्धताका साथ पार्टीको १४औँ महाधिवेशनमा सक्रिय पार्टीका नेता कार्यकर्ताहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रजातान्त्रिक समाजवादका प्रणेता बिपीले स्थापित गर्नुभएका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकाले नै कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भएको उहाँको भनाइ छ ।
लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनःस्थापना र संरक्षण तथा विकासमा कांग्रेसका नेता तथा कार्यकर्ताले गर्नुभएको त्याग र बलिदानका कारण कांग्रेस नेतृत्वमा विसं २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको डा महतले उल्लेख गर्नुभएको छ ।
साथै विसं २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनपश्चात कांग्रेसको नेतृत्वमै संविधानसभाबाट सङ्घीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गरी नेपाली कांग्रेसले गौरवपूर्ण स्वर्णिम इतिहास रच्न सकेको यथार्थलाई उहाँले स्मरण गर्नुभएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको र धेरै जिल्लामा वडा तहमा नेतृत्व र प्रतिनिधि निर्वाचित भइसक्नुभएको यस अवसरमा यसपटकको बिपी जन्मजयन्तीको विशेष महत्व रहेको उहाँले बताउनुभएको छ ।
सहमहामन्त्री डा. महतले भन्नुभएको छ, “यसले हामीलाई बिपीले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने विश्वास लिएको छु ।”


















