Prakash Adhikari September 10, 2021

बेइजिड.(चीन), २५ भाद्र(बीबीसी) । चीनले अफगानिस्तानलाई ३ करोड १० लाख डलर बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सो सहयोगमा खानेकुरादेखि कोरोनाभाइरस विरुद्धको खोप समेत छ।

बेइजिङले तालिबान सरकारसँग सम्बन्ध कायम राख्न आफू तयार रहेको बताइरहँदा त्यस्तो सहायता प्रदान गरिने समाचार आएको हो।

चीनका अनुसार नयाँ अन्तरिम सरकारको स्थापना अफगानिस्तानमा ूशान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदमू हो।

तालिबानले हालै अन्तरिम सरकार गठन गरेको जनाउँदै देशलाई इस्लामिक अमिरात पनि घोषणा गरेको छ।

यसैबीच उक्त देशसँगको सम्बन्ध विस्तारमा चीनले तीव्र कदम चालेको देखिन्छ।

घोषणा
चीनका विदेशमन्त्री वाङ्ग यीले बुधवार अफगानिस्तानका केही छिमेकी देशका आफ्ना समकक्षीहरूसँगको बैठकका क्रममा उक्त देशलाई दिइने सहायताको घोषणा गर्नुभएको थियो।

उक्त बैठकमा पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो।

विदेशमन्त्री वाङ्गले ती देशहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै चीनले ३० लाख मात्रा खोप उपलब्ध गराउने पनि बताउनुभयो।

चीनले अफगानिस्तानबाट बाहिरिने अमेरिकी निर्णयको खुला रूपमा निन्दा गर्दै अमेरिकी सैनिकहरूले त्यहाँ विध्वंस मच्चाएको बताएको छ।

लगानी
तालिबान अधिकारीहरूले चीनलाई अफगानिस्तानको सबैभन्दा महत्वपूर्ण साझेदार भन्दै युद्धबाट क्षतिग्रस्त देशमा हुने पुनर्निर्माणको काममा चीनको लगानी र समर्थन रहने आशा व्यक्त गरेका छन्।

बेइजिङले तालिबानसँग असल सम्बन्ध कायम गर्न गम्भीरतापूर्वक प्रयासहरू थालेको छ।

तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुभन्दा अघि नै चीनले उक्त समूहका नेताहरूलाई गत जुलाइमा वार्ताका लागि निम्त्याएको थियो।

उस्ले अफगानिस्तानलाई आर्थिक सहायताको प्रस्ताव गर्नुका साथै उक्त देश आतङ्कवादीहरूको आश्रयस्थल बन्न नहुनेमा समेत जोड दिएको थियो।

Share Now

Leave a comment.