काठमाडौं, १ असोज। देशका कतिपय स्थानमा विद्यालय खुले पनि अझै निगरानी गरेर मात्रै निर्णय लिइनुपर्ने विज्ञहरूको धारणा छ
विद्यालयका शिक्षक र कर्मचारीसहित सम्पूर्ण पदाधिकारीले पूर्ण मात्रामा खोप लगाएको सुनिश्चित गरेर मात्रै शैक्षिक संस्थाहरू सञ्चालन गर्न काठमाडौं जिल्ला प्रशासनले आदेश दिएसँगै दशैँ(तिहारपछि मात्रै अधिकांश विद्यालयहरूले भौतिक उपस्थितिमा पठनपाठन अघि बढाउने अपेक्षा अधिकारी तथा विज्ञहरूले गरेका छन्।
यसअघि स्थानीय तहहरूले नेपाल सरकारको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले निर्णय गरेका थिए।
काठमाडौं महानगरमा नै कतिपय विद्यालयहरूले असोज १ गतेबाट विद्यालय खुलाउने तयारी अघि बढाइरहँदा जिल्ला प्रशासन कार्यालयले विभिन्न शर्त पूरा गर्ने विद्यालयहरूलाई मात्रै भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिन सकिने भन्दै बिहीवार स्थानीय तहहरूलाई पत्राचार गरेको छ।
उपत्यकाको अर्को जिल्ला ललितपुरले भौतिक उपस्थितिमा शिक्षण संस्था सञ्चालनसम्बन्धी मापदण्ड बनाएको भन्दै त्यसको अधीनमा रहेर जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रको अनुमतिमा मात्रै विद्यार्थीहरूको प्रत्यक्ष उपस्थितिमा विद्यालयहरू सञ्चालन हुने बताएको छ।
कस्ता छन् सर्त ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचनामा भौतिक उपस्थितिमा पठनपाठन गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नुअघि आफ्नो पालिकास्तरमा कोभिड १९ सङ्क्रमणको अवस्थाको विश्लेषण गर्नुपर्ने भनिएको छ।
त्यसबाहेक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारीचालक तथा सहचालक, चमेनागृह सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने उल्लेख गरिएको छ।
अभिभावक तथा सरोकारवालासँग छलफल र समन्वय गरी स्थानीय तहमा नै विद्यालय सञ्चालनको विवरण र ढाँचा तय गर्नुपर्ने पनि जनाइएको छ।
त्यसकै आधारमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ।
विद्यालय
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थानीय तहहरूले नै विद्यालयहरूमा तोकिएका सर्तहरू पूरा भए या नभएको अनुगमन गर्ने बताउनुभयो।
उहाँ भन्नुहुन्छ, ‘हामीले खोप अनिवार्य लगाएको हुनुपर्छ भनेका छौँ। सबै पालिकाहरूमा शिक्षा शाखा र महाशाखाहरू छन्। जिल्ला शिक्षा समन्वयन एकाइ पनि छ। आवश्यक पर्यो भने उहाँहरूले खोपको लागि पनि समन्वय गर्नुहुन्छ।’
उहाँले पालिकाहरूलाई नै जिम्मेवार बनाउने हिसाबमा निर्णय भएको उल्लेख गर्दै भन्नुभयो, “जोखिम छैन भने विद्यालय सञ्चालन गर्नुहोस् भनेर हामीले पालिकालाई नै जिम्मेवार बनाएका छौँ।”
शिक्षणसंस्थाहरूको बाक्लो उपस्थिति रहेको ललितपुर जिल्लाले पनि विद्यालय सञ्चालनसम्बन्धी मापदण्ड तयार पारेको र त्यसमा शिक्षक, विद्यार्थी, चमेनागृह सहितले खेल्नुपर्ने भूमिका र पूरा गर्नुपर्ने स्वास्थ्य मापदण्ड उल्लेख गरिएको जनाएको छ।
त्यसमा स्थानीय तहले मापदण्ड परीक्षण गरी जिल्ला स्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने र त्यसको निर्णयका आधारमा भौतिक उपस्थितिमा पठनपाठन गराउनेबारे निर्णय लिइने उल्लेख गरिएको छ।
‘चाडपर्वलाई लक्ष्य गरेर निर्णय’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले कैयौँ विद्यालय सञ्चालकहरूले चाडपर्वलाई देखाउँदै तिहारपछि मात्रै भौतिक उपस्थितिमा अध्यापन गराउने कुराकानी गरेको बताउनुभयो।
राजधानीस्थित टेकु अस्पतालमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला केही दिनमा उपत्यकामा कोभिड-१९ को सङ्क्रमण दर ओरालो लागेको भए पनि थप विश्लेषण गरेर विद्यालय खोल्नेबारे निर्णय लिनु उपयुक्त हुने बताउनुभयो ।
डा. पुनले भन्नुभयो , ‘हाम्रा महान् चाडहरू ढोकामा नै आइसकेका छन्। केही दिनकै लागि मात्रै हामीले विद्यालय किन सञ्चालन गर्ने बरु त्यतिन्जेल हामी अवस्थालाई निगरानी गर्न सक्छौँ र त्यसअनुसार निर्णय गर्न सक्छौँ भन्ने हिसाबले पछिल्लो निर्णय आएको हुनसक्छ।’
विद्यालय
डा. पुनले अभिभावक र शिक्षकहरूलाई यो बीचको अवधिमा थप खोपहरू दिन सकिने र त्यसले थप सुरक्षा वृद्धि गर्ने उल्लेख गर्नुभयो।
‘अहिले सङ्क्रमण दर घटिरहेको भए पनि यो तथ्याङ्क प्रारम्भिक नै हो। अहिले नै निष्कर्षमा पुग्नु छिटो हुन्छ त्यही भएर चाड पर्वको अवधिमा सङ्क्रमणको दर हेरेर निर्णय लिनु उपयुक्त हुन्छ।’
बिहीवार प्रकाशित तथ्याङ्कअनुसार काठमाडौसहित १० वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० रहेको छ।
विभिन्न २२ वटा जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
विद्यालय सञ्चालक के भन्छन् ?
निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनका महासचिव कुमार घिमिरेले उपत्यकामा शिक्षक र कर्मचारीको तहमा ९९ प्रतिशतले खोप लगाइसकेको जानकारी दिँदै स्वास्थ्य मापदण्ड पालना गरेरै विद्यालय सञ्चालन गर्ने पक्षमा आफूहरू रहेको बताए।
उहाँले भन्नुभयो, ‘सबै ठाउँमा एकै प्रकारको अवस्था नरहेकाले फरकफरक ठाउँमा अलगअलग समयमा भौतिक रूपमा विद्यालयहरू सञ्चालन हुँदै गएका छन्। काठमाडौं महानगरबाहेक लगभग सबै ठाउँमा त्यसरी विद्यालयहरू सञ्चालनमा छन्। गलत मनसायले भौतिक रूपमा विद्यालय सञ्चालन गर्नुहुँदैन भनियो भने मात्रै हाम्रो संस्थागत विरोध हुन्छ। तर स्वास्थ्य सावधानी पालना गर्नुपर्ने भनेर राज्यले जारी गर्ने निर्देशिकाहरू हामीले पालना गर्नुपर्छ।’
उहाँका अनुसार विद्यालयहरूले एकै पटक सबै कक्षाहरू सञ्चालनमा ल्याएका छैनन् र अभिभावक तथा स्थानीय तहहरूसँग समन्वयन गरेर अघि बढिरहेका छन्।
पछिल्लो सूचनाले अन्योल निम्त्याएको भए पनि अघिल्लो साल पनि लकडाउन पछि काठमाडौंमा ढिलो विद्यालयहरू खुलेको उहाँले बताउनुभयो।
कैयौँ विद्यालयमा भौतिक दूरी कायम गरेर अध्यापन गराउने खालको पूर्वाधार छैन
कोभिड १९ सङ्क्रमण दर घटिरहे चाडपर्वपछि विद्यालयहरू पूर्ण स्तरमा सञ्चालनमा अपेक्षा आफूहरूको पनि रहेको उहाँले बताउनुभयो।
कतिपयले चाहिँ उपत्यकाका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीको उल्लेख्य हिस्सा राजधानीबाहिरबाट आउने गरेको उल्लेख गर्दै दशैँ, तिहार र छठपछि भौतिक उपस्थितिमा गराइने अध्यापनले गति लिने ठानिरहेका छन्।
सिकाइमा ह्रास
कतिपय विद्यालयले कार्तिक २४ गते पर्ने छठ पर्वपछि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जानकारी अभिभावकहरूलाई गराएका पनि बताइन्छ।
अघिल्लो साल सरकारले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाले विद्यालयहरूले सामाजिक दूरी पालना गराउने, मास्क लगाउने, तापक्रम जाँच्ने र हात धुने अनि स्यानिटाइजर लगाउने सहितका व्यवस्था विद्यालय परिसरभित्र गर्नुपर्ने उल्लेख गरेको छ।
विद्यालय बन्द भएको अवधिमा सिकाइमा हुने क्षतिप्रति चिन्ता जनाउँदै बालबालिका हेर्ने राष्ट्रसङ्घीय निकायले यूनिसेफको एउटा सर्वेक्षणले झन्डै ९० प्रतिशत अभिभावकहरूले विगतमा सिकेका कुराहरू आफ्ना बच्चाले बर्सिएको वा पछि परेको भन्दै चिन्ता जनाएको उल्लेख गरेको छ।
विद्यालय बन्द भएको अवधिमा अधिकांश बालबालिकाहरू स्वाध्ययनमा निर्भर रहनुपरेको उक्त सर्वेक्षणमा उल्लेख गरिएको थियो। (बीबीसी)