Prakash Adhikari February 28, 2018

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनको लागि रस्साकस्सी शुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट पार्टीको बागडोर फुत्काउन ईच्छुक गैर संस्थापन समूहले यो निर्वाचनलाई आफ्नो अनुकूल बनाउन भरमग्दूर प्रयास गरेको छ ।
१२ फागुनमा सम्पन्न संसदीय दलको बेठक र १३ फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टीको संस्थापन समूह विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको गैरसंस्थापन समूहले पार्टीको लगाम आफ्नो हातमा लिने प्रयासलाई जारी नै राखिरहेको छ ।

पार्टीले निर्वाचन हारेको अवस्थामा पार्टी सभापतिले अन्य नेतालाई संसदीय दलको नेताको जिम्मेवारी दिंदै आएको कांग्रेसको परम्परा र अभ्यासलाई नजीरको रुपमा प्रस्तुत गर्दै आएको संस्थापन विरोधी समूहबाट संंसदीय दलको निर्वाचनमा पार्टीका पूर्वमहामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नुभएको छ ।

तर संसदीय दलमा समानुपातिक र प्रत्यक्ष दुवै तिरका उम्मेदवारलाई टिकट दिँदा निर्णायक भूमिकामा रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको अवस्था बलियो छ । यसैले संस्थापन विरोधी समूहले सहमतिका आधारमा पार्टीको संसदीय दलको नेतृत्व चयन गर्ने विकल्पलाई पनि उपयोग गर्न खोजेको छ ।

संस्थापन विरोधी आफ्ना पक्ष सहित सबै सांसदहरुलाई पार्टीमा नयाँ ऊर्जा ल्याउन संसदीय दलको नेतामा नयाँ अनुहार ल्याउनुपर्ने आवश्यकतालाई बल पुर्याउदै आफ्नो पक्षको स्थिति मजबूत बनाउन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार चियापान कार्यक्रम आयोजना गर्नुभयो । सोही क्रमलाई निरन्तरता दिंदै कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा तथा प्रदेश सभाका नवनिर्वाचित सांसदहरुका लागि आज दिवाभोजको आयोजना गर्नुभएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि सर्वसम्मत भएमा आफू संसदीय दलको नेता बन्न तयार रहेको अभिव्यक्ति दिइसक्नुभएको छ । तर निर्वाचन भएमा उहाँ पार्टी सभापतिको विरुद्ध उभिने अवस्थामा हुनुहुन्छ । पार्टीको १३ औं महाधिवेशन पछि नै पार्टी सभापति देउवा र महामन्त्री कोइरालाबीच न्यूनतम समझदारी भएको अनुमान गरिएको छ । पार्टी सभापतिको रुपमा देउवालाई महामन्त्री कोइरालाले यो कार्यकाल पुर्ण रुपले सघाउने र अर्कोपटक पार्टी नेतृत्वमा कोइरालालाई देउवाले स्थापित गरिदिने भन्ने । सभापति देउवाको विरुद्धमा संसदीय दलमा निर्वाचन नलड्ने महामन्त्रीको घोषणाको पछाडि यही समझदारी कारण रहेको बताइन्छ ।

पार्टीभित्र र बाहिर चर्को दबाव देखिएमा सभापति देउवाले अगाडि सार्ने संभावित उम्मेदवार पनि महामन्त्री कोइराला बाहेक अरु देखिदैनन् तर यथास्थितिमा सभापति देउवा पार्टीको नेतृत्वमा कुनै दोस्रो व्यक्ति स्थापित गर्ने मुडमा देखिनुहुन्न । उहाँलाई उहाँको समूहले त्यसो गर्न छुट दिने पनि देखिदैन । पार्टीले निर्वाचनमा पराजय भोेगेको भएपनि पार्टी भित्र देउवाको पकड निकै मजबूत छ ।

पार्टीको १३ औं महाधिवेशनमा उहाँको विरुद्ध मुखर भएर उत्रिने सभापतिका प्रत्याशी वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवैजना प्रतिनिधिसभाको निर्वाचनमा पराजित भैसक्नुभएको छ । कोइराला परिवारबाट उहाँ विरुद्ध उभिन सक्ने मानिनुभएका डा.शेखर कोइराला पनि प्रतिनिधिसभामा विजयी बन्न सक्नुभएन् । निर्वाचन नै भएमा संसदीय दलमा उहाँ नै विजयी बन्ने बलियो आधार छ, त्यसैले उहाँ अहिले संसदीय दलको लगाम छोड्न तयार हुनुहुने अवस्था देखिदैन ।

कांग्रेस सभापति देउवाले एकीकृत पार्टी र विभाजित पार्टी सहित पद अर्थात सत्तामा रहदा र नरहदा पाउने मान अपमान र सुख दुख दुवै आफैले भोग्नुभएको छ । त्यसैले पार्टीमा आफूप्रति अपेक्षाकृत बढी लोयल व्यक्तिलाई उत्तराधिकारीका रुपमा उभ्याउन उहाँ तयार हुनुभयो भने उहाँले पनि अगाडि सार्ने व्यक्ति महामन्त्री कोइराला नै हुनुहुनेछ, वीपीका कान्छा सुपुत्र डा. शशांक कोइरालालाई छाड्दा पार्टीमा एकताको सन्देश पनि प्रवाहित हुनेछ भने पार्टीभित्र उहाँमाथि आउने विरोध पनि यसले मत्थर पार्नेछ । यथा अवस्थामा र पार्टीको अवस्थामा सुधार नगरी कांग्रेसको हातमा सत्ता पनि आउने देखिदैन् कागतालीले आए पनि दिगो हुने अवस्था छैन् ।

पार्टीलाई एकताबद्ध बनाएर अर्को निर्वाचनमा देशको सबैभन्दा ठूलो पार्टी बनाउनका लागि आफू सम्पूर्ण ढंगले पार्टी सुदृढीकरणमा लाग्ने संकल्प पार्टी सभापति देउवाले अन्तरमनदेखि गर्नुभएको हो भने संसदीय दलको नेतृत्वको जिम्मेवारी आफ्ना विश्वासपात्रलाई छोड्नु उपयुक्त पनि हुन्छ । उहाँको रोजाईमा पनि महामन्त्री डा.कोइराला नै पर्ने संभावना पनि छ ।

पार्टी सभापति देउवाले अत्यन्त विश्वास गरेर प्रवक्तामा नियुक्त गर्नुभएका युवा नेता विश्वप्रकाश शर्माले मंगलबार सार्वजनिक गर्नुभएको ट्वीटले पनि यही संकेत गरेको छ । उहाँले दुई शीर्ष नेतृत्वलाई कि मिलेर जान कि अभिभावक भएर बस्न सुझाव दिंदै युवा पुस्ता कांग्रेसको नेतृत्व हाँक्न सक्षम भएको सन्देश दिनुभएको छ ।

संसदीय दलको निर्वाचन २१ गते
फागुन २१ गते हुने नपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सहमतिको प्रयास सफल नभएमा पार्टीको संसदीय दलको नेतृत्व चयनमा निर्वाचन हुने निश्चित छ । दलमा पार्टी सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहका बीचमा प्रतिस्पर्धा हुनेछ ।

Share Now

Leave a comment.