काठमाडौं,१५ फागुन ।संविधान संशोधन लगायतका विषयमा सत्तापक्ष र संघीय समाजवादी फोरम नेपालबीचको छलफल सहमति नजिक पुगेको दुवै पक्षले जनाएका छन्।
त्यसबारे बुधवारसम्ममा सहमतिमा पुग्ने आशा दुवै पक्षका नेतामा पाइन्छ।
पार्टी एकता गर्ने सहमति गरेका दुई सत्तासीन वामपन्थी दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र र फोरमबीच केही दिनयता छलफल तीव्र बनेको छ।
ती छलफल सरकारमा फोरम नेपालको सहभागिताको निम्ति ढोका उघार्न केन्द्रित छन्।
चुनौतीपूर्ण
कार्यदल तहमा जुन निकटता देखिएको छ, नेतृत्व तहले त्यसमा सहमति जनाएमा हामी अघि बढ्न तयारी अवस्थामा छौँ।
राजेन्द्र श्रेष्ठ, सह-अध्यक्ष, फोरम नेपाल
कतिपयका बुझाइमा त्यसको निम्ति फोरम नेपालले खोजेको संविधान संशोधनमा सत्तापक्षको लिखित प्रतिबद्धता चुनौतीपूर्ण छ।
तर छलफल सहमति निकट पुगेको बताउने फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले सत्तापक्षले चाहेमा बुधवारसम्म सहमति हुनसक्ने बताए।
उनले भने, “कार्यदल तहमा जुन निकटता देखिएको छ, नेतृत्व तहले त्यसमा सहमति जनाएमा हामी अघि बढ्न तयारी अवस्थामा छौँ।”
सरकारमा फोरमको सहभागिता र संविधान संशोधनका विषयमा दुवै पक्षको शीर्षस्थ तह र कार्यदलस्तरमा छलफल भइरहेका छन्।
फोरमसँगको वार्तामा संलग्न एमाले सचिव प्रदीप ज्ञवालीले पनि छलफल सहमति नजिक पुगेको जानकारी दिए।
फोरमको मुद्दा
अहिलेसम्मको छलफल हेर्दा बुधवारसम्ममा एउटा निष्कर्षमा पुगिन्छ जस्तो लागेको छ।
प्रदीप ज्ञवाली, सचिव, एमाले
उनले भने, “अहिलेसम्मको छलफल हेर्दा बुधवारसम्ममा एउटा निष्कर्षमा पुगिन्छ जस्तो लागेको छ।”
तर फोरम नेपालले उठाउँदै आएका प्रदेश सीमाङ्कन हेरफेर लगायतका मुद्दामा बुँदागत कुरा नभएको उनको भनाइ छ।
फोरम नेपालले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टीसँग चुनावी गठबन्धन बनाएको थियो।
त्यहाँको प्रादेशिक सरकार पनि दुवै दल मिलेर गठन भएको छ।
तर संविधान संशोधनको निम्ति आवाज उठाउँदै आएको राजपा नेपाल सत्तापक्षसँग फोरमको वार्तामा सहभागी छैन।
बीबीसीबाट