काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ(क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिने घोषणा गर्नुभएकोे छ ।
राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै दुवैले राजीनामा दिने घोषणा गर्नुभएको हो।
दुई वर्षअघि निर्वाचित भएका दुवैले पदावधी नसकिदै राजीनामा दिने घोषणा गर्नुको चित्तबुझ्दो जवाफ दुवैले दिनुभएको छैन।
अध्यक्ष चतुरबहादुर चन्दसँगै निर्वाचित भएका दुवै पदाधकारीले वर्तमान कार्यसमितिका अध्यक्षसंग मतभेद भएको पनि कुनै संकेत दिनुभएन ।
सचिव प्याकुरेलले नेपाली क्रिकेटको लामो इतिहासको पृष्ठभूमी राख्दै विगत १० वर्षदेखि क्यानमा विधिवत निर्वाचत नेतृत्व स्थापना गरेर यसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु सुचारु गर्न संघर्ष गरेको बताउनुभयो।
उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट क्यानको निलम्बन फुकुवा भएको र बजेट लगायत सबै आउन थालेकाले आफूहरूको लक्ष्य पूरा भएको बताउनुभयो।
प्याकुरेलले नेपाली क्रिकेट अब सामान्य अवस्थामा फर्किएको बताउँदै आफ्नो मिसन पूरा भएको बताउनुभयो।
उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले राजीनामाको विषयमा क्यान नेतृत्वसँग कुनै छलफल गर्नुभएको थिएन।
उहाँ दुवैले दुई वर्षअघि क्यानको निलम्बन फुकुवा भएकै दिन राजीनामा दिने मनस्थिति बनाएर आज घोषणा गरिएको पनि दावी गर्नुभयो ।


















