Prakash Adhikari October 2, 2021

काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा काठमाडौँका पालिकाहरुको अधिवेशन आज हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो ।

काठमाडौँको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा आज निर्वाचन सम्पन्न गर्न नसकिएको आचार्यले बताउनुभयो ।

मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन ।

कांग्रेसले आगामी मङ्सिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ ।

काठमाडौं जिल्लामा अहिले पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका भिमसेन दास प्रधानको एक प्यानल बनेको छ भने पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको अर्को प्यानल बनेको छ ।

महानगरमा प्रगतिमान र नीलकाजीको प्रतिस्पर्धा

काठमाडौं महानगरपालिकामा १५ वर्षपछि हुन लागेको नगर अधिवेशनमा प्रगतिमान रञ्जित र नीलकाजी शाक्यको प्रतिस्पर्धा हुने भएको छ । १२ र १३ औं अधिवेशनमा विवादको कारण काठमाडौं महानगरमा कांग्रेसको नगरसमितिको निर्वाचन भएको थिएन ।

प्रगतिमान नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष हुनुहुन्छ र उहाँलाई पार्टी सभापति देउवासहित सिटौला समूहका नेता भिमसेनदास प्रधानको समर्थन छ ।

महानगर सभापतिमा अर्का प्रत्यासी तथा काठमाडौं महानगरपालिका २५ का वडाध्यक्ष शाक्य नेता प्रकाशमान सिंहको आशिर्वाद प्राप्त छ ।

बुढानीलकण्ठमा तीन उम्मेदवार

गगन थापाको निर्वाचन क्षेत्र हो, बुढानीलकण्ठ नगरपालिका । यो नगरको ५ वटा वडा प्रतिनिधिभा निर्वाचन क्षेत्र–५ मा पर्छन् । नगर सभापतिका लागि तीन आकांक्षी मैदानमा उभिनुभएको छ, राजाराम बुढाथोकी, राजन बुढाथोकी र राजुविक्रम थापा ।

राजाराम साविकको कपन गाउँ विकास समितिका सभापति हुनुहुन्छ। उहाँ सिंह–थापा समूहका नेता हुनुहुन्छ । अर्का उम्मेदवार राजन बुढाथोकी नगर सचिव हुनुहुन्छ । राजुविक्रम थापा नेपाल तरुण दलका नगर सभापति हुनुहुन्छ । राजन र राजुविक्रम दुवै संस्थापन समूह निकट हुनुहुन्छ ।

दक्षिणकालीमा सहमतिकै सम्भावना

दक्षिणकाली नगरपालिकामा भने सहमतिबाटै नेतृत्व चयन हुने सम्भावना रहेको नेताहरु बताउँछन् । नगर सभापतिमा मेयर मोहन बस्नेतको मात्रै दाबी देखिएको छ । श्याम कार्कीलाई उम्मेदवार बनाउने प्रयास पनि जारी रहेको छ ।

गोकर्णेश्वरमा रामजी र कुमार

गोकर्णेश्वरमा नगर सभापतिका लागि संस्थापन समूहबाट रामजी श्रेष्ठ रामचन्द्र पौडेल समूहबाट कुमार लामा प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठ इञ्जिनियर हुनुहुन्छ भने लामा व्यवसायी । लामा नगर कोषाध्यक्ष पनि हुनुहुन्छ ।

कागेश्वरी–मनोहरामा उद्धव र मिठारामको स्पर्धा

कागेश्वरी–मनोहरा नगरपालिकामा संस्थापन समूहबाट उद्धव दाहाल नगर सभापतिका उम्मेदवार हुनुहुन्छ भने प्रकाशमानको समर्थनमा मिठाराम दाहाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

कीर्तिपुरमा सहमतिको प्रयास

कीर्तिपुर नगरपालिकाको नगर सभापतिमा राजेन्द्र महर्जन, कविन्द्र कार्की, मीनप्रकाश महर्जन लगायतको दाबी छ ।

तर सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको छ ।

नागार्जुनमा अच्यूत र दुर्गाको प्रतिस्पर्धा

नागार्जुन नगरपालिकामा पनि अच्यूत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

शंखरापुरमा सत्यमान र दिलीपको भिडन्त

शंखरापुर नगरपालिकामा संस्थापन समूहबाट सत्यमान लामा र प्रकाशमानको समर्थनमा दिलीपकुमार श्रेष्ठले नगर सभापतिमा उम्मेदवारी दिने तयारी छ ।

तारकेश्वर र टोखामा प्रकाशमान भर्सेस भीमसेन

टोखा र तारकेश्वर नगरपालिका पूर्व रक्षामन्त्री एवं सिटौला समूहका नेता भीमसेन दास प्रधानको निर्वाचन क्षेत्र हो । दुवै नगरमा उहाँको समूहले पूर्व महामन्त्री प्रकाशमानको समूहसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

तारकेश्वर नगरपालिकाको नगर सभापतिमा प्रधान समूहबाट कृष्णहरि महर्जन उम्मेदवार हुनुहुन्छ भने अर्का उम्मेदवार श्रीराम थापालाई प्रकाशमान सिंहको समर्थन छ ।

यस्तै टोखा नगरपालिकाको नगर सभापतिमा प्रधानको समूहले ओमकृष्ण विमलीलाई अघि सारेको छ । प्रकाशमानको समर्थन दीपक जोशीलाई छ ।

चन्द्रागिरीमा सहमतिकै संभावना

चन्द्रागिरी नगरपालिकामा सहमतिमै नेतृत्व चयनको सम्भावना बढी रहेको नेताहरु बताउँछन् नगरपालिकाका प्रमुख घनश्याम गिरी आफैं नगर सभापतिका लागि आकांक्षी हुनुहुन्छ ।

 

Share Now

Leave a comment.