Prakash Adhikari October 2, 2021

काठमाडौं, १६ असोज । आफ्नो सरकारले यति विकास गर्यो भनेर फुई लगाउनेहरुलाई अर्थशास्त्री प्रा. डा.विश्वम्भर प्याकुरेलले कडा दनक दिनुभएकोछ ।

शुक्रबार अर्थविद् डा. रेवतबहादुर कार्कीद्धारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु विषयक पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै प्रा. डा. प्याकुरेलले भन्नुभयो,”नेपालको आर्थिक बृद्धि स्वभाविक ढंगको(नेचुरल) छ । सरकारै नभए पनि यो हुन्छ ।”

उहाँले आफ्नो भनाईलाई पुष्टि गर्न आफनो विद्यार्थीकालको स्मरण गर्दै भन्नुभयो,”हामी विश्वविद्यालय पढने बेलामा कोलम्बो प्लान अन्तरगतका रुड्कीका प्राध्यापकहरु आएर भन्थे नेपाल ३ बर्षपछि अतिकम विकसित मुुलुकबाट मध्यआय मुलुकमा स्तरोन्नति हुने छ । तर मैले विश्वविद्यालयमा ३९ बर्ष पढाएर अवकाश लिएको पनि ९ बर्ष भयो । अझै स्तरोन्नति भएको छैन । नेपाल जहाँको त्यही छ ।”

प्रा.डा.प्याकुरेलले नेपालको अर्थतन्त्रमा संरचनागत जडता रहेको उल्लेख गर्दै भन्नुभयो,”गरिबी घट्यो तर त्यसले आय असमानता घटाउन सकेन । जसो गरेपनि देशमा उत्पादकत्व बढेन । आर्थिक बृद्धिको प्रक्षेपण गर्ने योजना आयोग,अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र केन्द्रीय तथ्यांक विभाग सबैको अनुमान गलत निस्कदै आइरहेको छ । यसले हाम्रो अर्थतन्त्रमा समस्या भएको पुष्टि गर्दछ ।”

उहाँले नेपालको वास्तविक क्षेत्रले देशमा हरेक बर्ष रोजगारीको बजारमा प्रबेश गर्ने ६ लाख जनशक्तिलाई लिन नसकेको बताउदै यसले कूल जनसंख्याको १.१८ प्रतिशतलाई मात्र रोजगारी दिएको उल्लेख गर्नुभयो ।

प्रा. डा. प्याकुरेलले कर्मचारीलाई दिइएका तालिम, बढाएको प्रोत्साहन भत्ता र तलबले समेत कर्मचारीको दक्षता, कार्य क्षमता अभिबृद्धि भएर उत्साहजनक प्रतिफल नआएको बताउदै हामीले निर्माण गरेका नीतिहरुले बाह्य तत्वहरुलाई समेटन नसकेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाललाई सामन्तवादी युगबाट आधुनिक युगमा प्रवेश गराउने श्रेय नेपाली कांग्रेसलाई दिंदै कांग्रेसले नै पूर्वाधार र आर्थिक सामाजिक विकासको रेखा कोरेको बताउनुभयो ।

उहाँले २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्रको पुनस्थापना गरेपछि २०४८ सालमा आएको नेपाली कांग्रेसको सरकारले लिएको उपयुक्त नीतिले नेपालको गरिबी ४९ प्रतिशतबाट घटेर हाल १५ -१६ प्रतिशतमा आइपुगेको बताउनुभयो । उहाँले माओवादी सशस्त्र द्धन्द्धको विषम परिस्थितिमा पनि नेपाल विश्वमा सामाजिक विकासका क्षेत्रमा उच्च गतिको प्रगति गर्ने १० देश र एशियाका ३ देशभित्र पर्न सफल भएको बताउनुभयो ।

डा.महतले नेपालको प्रतिव्यक्ति आय बार्षिक ११ सय  डलर पुगेको र आगामी बर्ष निम्नमध्यम मुलुकमा स्तरोन्नति हुने पनि बताउनुभयो । नेपालको आर्थिक सामाजिक विकासमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, एशियाली विकास बैंक जस्ता बहुराष्ट्रिय संस्था र द्धिपक्षीय सहयोग संस्थाहरुको पनि उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै दीगो विकास लक्ष्यउन्मुख कार्यक्रमले नेपालको आर्थिक सामाजिक विकासलाई सही गति र दिशा दिने बताउनुभयो ।

उहाँले नेपालको आर्थिक विकासका लागि संस्थागत सुधार जरुरी भएको र २०४८ देखि २०५१ सम्म प्रशासनिक सुधार,आर्थिक उदारीकरण र निजीकरणका माध्यमबाट उच्च आर्थिक बृद्धिदर हासिल गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.प्रकाश श्रेष्ठले नेपालले विगत ३० बर्षको तुलनामा निकै प्रगति गरेको उल्लेख गर्नुभयो ।

विमोचन समारोहमा पुस्तकमाथि चर्चा गर्दै डा.चन्द्रमणि अधिकारीले अर्थशास्त्र हरेक मानिसको दैनिक जीवनसंग संबन्धित भएर पनि यसलाई सरल रुपमा बुझाउने कार्यमा देखिएको कमजोरीले यो दुरुह जस्तो भएको बताउनुभयो । उहाँले पुस्तकको वैचारिक पक्ष,विषय बस्तु र संरचनाको विवेचना गर्नुभएको थियो ।

कार्यक्रममा परराष्ट्रविद् डा. दिनेश भट्टराईले अर्थतन्त्रका बारेमा लेखिएको यो पुस्तक अर्थशास्त्रको ज्ञान नभएका पाठकले समेत बुझ्ने गरी सरलभाषामा लेखिएको बताउनुभयो ।

कार्यक्रममा लेखक डा.कार्कीले अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई समेटेर तयार पारिएको पुस्तकलाई पाठक समक्ष ल्याउन कोरोनाकालको गुप्तबास सहयोगी भएको उल्लेख गर्नुभयो ।

उहाँले विगत ४० बर्षदेखि नेपाल र अन्तर्राष्ट्रिय संस्थाहरुमा आर्थिक, बैंकिड., पूँजीबजार र बाह्य क्षेत्रसम्बन्धी काम गर्दाको अनुभवले यो पुस्तक तयार पारेर पाठक समक्ष ल्याउन प्रेरित गरेको बताउनुभयो ।

पुस्तकमा अर्थतन्त्रका चार वटा मुख्य पाटो मानिने वास्तविक क्षेत्र,सार्वजनिक/सरकारी वित्त,वित्तीय(मौद्रिक र पुँजीबजार) र बाह्य वैदेशिक व्यापार तथा भुक्तानीका बारेमा चर्चा गरिएको छ ।

Share Now

Leave a comment.