काठमाडौं, १७ असोज । एभरेस्ट प्रिमियर लिगको आइतबारको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौँ किंग्स ११ लाई ७ रनले पराजित गरेको छ ।
लिगमा यस अघि ४ वटै खेलमा पराजित भएको वारियर्सले अन्तिम खेलमा काठमाडौं किंग्स् ११ लाई पराजित गर्दै सुखद् बिदाई लिएको छ ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बिराटनगर वारियर्सले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ किंग्स११ ले पुरै ८ ओभरमा ३ विकेट क्षतिमा ९७ रनमा रोकिन पुग्यो ।
वर्षाका कारण आउटफिल्ड भिजेकाले खेल ढिला सुरु भएकाले ८ ओभरमा झारिएको थियो।
लक्ष्य पछ्याउने क्रममा काठमाडौँको लागि ओपनर रहमनुल्लाह गुर्बजले सर्वाधिक २८ रन, सुबाश खकुरेलले अविजित २६ रन, राजु रिजालले अविजित २४ रन तथा रायन बर्लले १५ रन बनाए।
काठमाडौंलाई रोक्न बिराटनगरको बलिंगमा रायन पठानले २ विकेट लिए भने प्रतिश जिसीले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट क्षतिमा १ सय ४ रन बनाएको थियो।
बिराटनगरको लागि अनिल शाहले ४५, रायन पठानले, ३०, करन केसीले १५ तथा सौरभ खनालले ५ रन बनाए।
बिराटनगरलाई रोक्ने क्रममा काठमाडौंको बलिंगमा गुल्सन झा,रायन बर्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।
जितपछि काठमाडौँ किंग्स ११ अंक तालिकामा ३ खेलमा १ जित र २ हार ब्यहोर्दै २ अंकसहित पाँचौ स्थानमा रहेको छ। बिराटनगरले ५ खेलमा १ जित र ४ हार बेहोर्दै २ अंक बटुल्दै लिगको अन्त्य गर्यो। गत सिजन पनि बिराटनगर प्लेअफ पुग्न चुकेको थियो।


















