काठमाडौं, १९ असोज । विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ ।
महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा युनेस्को काठमाडौँको प्राविधिक सहयोगमा भर्चुअलरूपमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले शिक्षकको सूचना तथा सञ्चार प्रविधि सीप र शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिका विषयमा गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले विषम स्थितिमा पनि शिक्षकहरूले सिकाइ निरन्तरतामा दिएको योगदानको प्रशंसा गर्दै आफ्नो पेशाप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।
मन्त्रालयका सहसचिव डा हरि लम्सालले शिक्षकलाई सरकारी स्तरबाट तालिम तथा परामर्शको कमी भए पनि आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा पूरा गर्ने गरेको र गुरुयोजना लागु भएपछि शिक्षकलाई थप सहजीकरण हुने बताउनुभयो । युनेस्को काठमाडौंका शिक्षा प्रमुख डा.बलराम तिमल्सिनाले कोरोना कहरमा विद्यालय शिक्षामा सूचना र सञ्चारको प्रयोग विषयमा शिक्षकहरू जिम्मेवार र सक्रिय भएमा विद्यार्थीले लाभ लिन सक्ने जनाउनुभयो ।
युनेस्को प्रस्तावमा सन् १९६६ देखि हरेक अक्टोबार ५ लाई विश्व शिक्षकका रुपमा मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘शिक्षकहरू शैक्षिक सुधारको मुटु हुन्’ रहेको छ । समाजका अध्यक्ष डा जानुका नेपालले आधुनिक परिवेशमा शिक्षकको भूमिका परिवर्तन भएकाले शिक्षकले आफ्नो काममा आफू जागरुक तुल्याई विद्यार्थीको सिकाइमा सहजकर्ताका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।