हेटौडा(मकवानपुर), २४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिनुहुने भएको छ।
नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले आइतबारदेखि सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो।
आइतबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुहुनेछ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउनुभएको छ। शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ।
गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गर्नुभएकी मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना देखिँदैन।
१०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउन शाक्यलाई ५५ सांसद चाहिन्छ। तर‚ ५६ सांसदसहित बहुमतबाट मुख्यमन्त्री बन्नुभएकी शाक्यसँग हाल ४३ सांसद मात्रै छन्।
एमालेले अन्य दलसँगको साझेदारीमा संसद्मा विश्वासको मत पाउने दाबी गरिरहेको छ। तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन।
केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको बागमती प्रदेशमा चार घटकको प्रतिनिधित्व छ।
प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३ र जनता सामाजवादी पार्टीका एक गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन्।
तर‚ ४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेको विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्याउन सक्दैन।
संसद्मा विवेकशीलसँग तीन तथा राप्रपा र नेमकिपासँग दुई दुई सांसद छन्। ती सबैलाई जोड्दा एमालेसँग ५० मत मात्रै हुन्छ। जुन प्रदेश सरकार टिकाउनका लागि अपर्याप्त हो। त्यसैले नेपालकै पहिलो महिला मुख्यमन्त्रीको रुपमा सत्तारोहण गर्नुभएको शाक्य सो पदमा टिकीरहने अवस्था आजबाटै समाप्त हुने लगभग निश्चित नै छ।
उता विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार विस्थापित गर्दै गठबन्धनको नयाँ सरकार बनाउने तयारी गरिरहेको छ। विपक्षी गठबन्धनमा रहेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा प्रदेश सरकार बनाउने विपक्षी गठबन्धनको तयारी छ।
गठबन्धनमा हाल ६० जना सांसद छन्। सरकार बनाउन आवश्यक मत रहेको गठबन्धनले प्रदेश प्रमुखकोमा बहुमत पुर्याएर जाने बताएको छ।


















