Prakash Adhikari October 10, 2021

काठमाडौं,२४ असोज । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ लगानी भित्राउनको लागि स्वीकृति दिएको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब नेरु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।

लगानी स्वीकृति हुनेमा दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजना रहेको छ । यसमा १०.५ अर्ब  रुपैयाँ  लगानी हुने छ । त्यस्तै संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा नेरु ६२ अर्ब २६ करोड रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ ।

यसै गरी, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्च-स्तरीय अध्ययन समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहेका छन् ।

बैठकले लगानी बोर्डको चालु आर्थिक वष्र्तको २०७८र०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजनाको सेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनुभएको थियो ।

Share Now

Leave a comment.