Prakash Adhikari October 16, 2021

चौतारा, ३० असोज (रासस) । एक आपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ । यो जात्रा यस स्थानमा मात्र लाग्ने गर्दछ ।

विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैँ सकिएको सङ्केत गर्दै खड्गजात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एक आपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ यो जात्रा मनाउने गरिन्छ ।

बडादशैँको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने यहाँको यो जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो ।

तेह्राँै शताब्दीमा मल्लकालदेखि सुरु भएको उक्त जात्रा गतवर्ष कोरोना महामारीका कारण बन्द गरीएको थियो । जात्रामा निकै टाढाबाट आएका करिब छ हजार मानिसको उपस्थिति थियो ।

विगतका वर्षमा रु एक लाख ५० हजारको दही खरीद गरी दहीको भल बग्ने गरी मनाइएकामा यस वर्ष रु ५० हजारको दही खरीद गररेर त्यही दही छ्यापाछ्याप गरेर मनाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डवहरुले जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तवास बसेका महाभारतमा उल्लेख छ । उनीहरु गुप्तवास बसेको ठाउँ दोलखा भएको पनि बताइन्छ । गुप्तवास बस्दा अरुले चिन्ने डरले उनीहरूले साङ्केतिक भाषा प्रयोग गर्ने गरेका ऐतिहासिक तथ्यहरुमा भेटिन्छ ।

दोलखा र तौथली डाँडावारि र पारि पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथली बाहेक नेपालका कुनै पनि स्थानमा बोलिदैन र बुझ्न पनि कठिन पर्ने स्थानीयबासीको धारणा रहेको पाइन्छ । त्यसैले त्यसै समयदेखि यो जात्राको पनि परम्परा जोडिँदै आएको बताइन्छ ।

Share Now

Leave a comment.