Prakash Adhikari October 20, 2021

स्वेच्छा राउत / बीबीसी न्यूज नेपाली

काठमाडौं, ३ कार्तिक । लालबहादुर राना दुबई गएको १५ दिन भएको थियो। एउटा कम्पनीमा जागिरको लागि अन्तर्वार्ता दिनुभएको थियो तर काम सुरु भएको थिएन। फुर्सदमा दैनिक जसो परिवारसँग भिडियो कल हुन्थ्यो।

गत असोज २५ गते सोमवार पनि उहाँले श्रीमती अमृतालाई फोन गर्नुभयो। अमृता बर्दियास्थित घरदेखि मुगुस्थित माइती जाने तयारीको चटारोमा हुनुहुन्थ्यो। त्यसैले पाँच वर्षीय छोरा आयुषलाई फोन थमाउँदै उहाँले भन्नुभयो, “बाबासँग कुरा गर।”

“छोरा पनि मामाघर जाने कुराले दङ्ग थियो। मैले दुबईबाटै प्लेन टिकट काटिदिन्छु भनेको थिएँ। तर फूलपातीसम्मको टिकट पाइएन”, राना बोल्दाबोल्दै रोकिनुभयो।

“आमाबुवा भएको ठाउँमा पुग्न हतार थियो होला। त्यसैले बसमै जान्छु, पुगेर खबर गर्छ भनेकी थिइन्।”, रानाले थप्नुभयो ।

उहाा छोराले पनि बाबा चाँडै आउनु टाटा भन्दै हात हल्लाएको सम्झन्छन्। तर रानाले सोच्नु पनि भएको थिएन त्यो नै अन्तिम बिदाइ बन्नेछ।

भोलिपल्ट ढिलासम्म श्रीमतीले फोन नगरेपछि राना फेसबुक चहार्दै हुनुहुन्थ्यो, “अचानक मुगु छायाँनाथ रारा नगरपालिकाको भीरबाट बस खसेको खबर देखा पर्यो र उहाँ झस्किनुभयो।” जे नहोस् भन्ने कामना थियो, त्यही भयो ।

रानाले भन्नुभयो, “मेरी श्रीमती, छोरा र सालो पनि त्यसैमा होलान् भन्ने कल्पना समेत गरेको थिइनँ।”

उहाँका पाँच वर्षीय छोरा, २६ वर्षीय श्रीमती र १८ वर्षीय सालो महेन्द्र शाही त्यसैमा सवार हुनुहुन्थ्यो। सबैको घटनास्थलमै मृत्यु भयो। खबर फैलन समय लागेन।

“श्रीमतीले चाहेको खान लाउन पाओस्, छोराको भविष्य बनोस् भनेर बिदेसिएको थिएँ। उनीहरू नै रहेनन्। मैले केही नसोची नेपाल फर्कने टिकट काटेँ  “, रानाले सुनाउनुभयो।

हाल उहाँ किरियामा हुनुहुन्छ। श्रीमती र छोरा सम्झेर छिनछिनमा भक्कानो फुट्ने सुनाउँछन्।

राना भन्नुहुन्छ, “उनीहरू त गए। उपचार गराइरहेकाहरू बाँचून् भनेर कामना गरिरहेको छु।”

श्रीमती र छोराको अन्तिम संस्कारका लागि नेपाल आएका लालबहादुर राना।

श्रीमती र छोराको अन्तिम संस्कारका लागि नेपाल आएका लालबहादुर राना।

दशैँको त्यो भयावह दुर्घटना
दशैँको फूलपातीका दिन छायाँनाथ रारा नगरपालिकाको कच्ची सडकबाट यात्रुवाहक बस करिब ३ सय मिटर तल खस्यो।

बसमा सवार २८ जनाको घटनास्थलमै मृत्यु भयो। चार जनाको सोही दिन अस्पतालमा र एक जनाको कार्तिक २ गते उपचारका क्रममा मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार दुर्घटना भएको गाडी क्षतिग्रस्त छ। बसको दाहिनेपट्टि अगाडिको टायर पन्चर भएको देखिएको थियो।

“टायर पन्चर भएकै कारण दुर्घटना भएको जस्तो देखिन्छ। साधन पूर्ण रूपले क्षति भएका कारण अन्य समस्या पहिल्याउन गाह्रो भयो “, भट्टराईले भन्नुभयो।

नेपालगन्जदेखि मुगु पुग्न दुई दिन यात्रा गर्नुपर्छ। नाग्मादेखि मुगुतर्फ ९४ किलोमिटर बाटो वर्षा र बाढीका कारण जीर्ण बनेको र उक्त सडक खण्डमा यात्रा जोखिमपूर्ण भएको भट्टराईले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “यस क्षेत्रमा हुने दुर्घटनाको कारण सडक नै हो। नयाँ सवारीसाधन समेत बिग्रन्छ। गाडीमा यान्त्रिक समस्या देखिए पनि मर्मत गर्ने ठाउँ छैन।”

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मल्लले दुर्घटनाका कारण छायाँनाथ रारा नगरपालिकाको अधिकांश गाउँमा दशैँ तनावपूर्ण भएको बताउनुभयो।

मल्ल भन्नुहुन्छ, “प्रायः ३० वर्ष मुनिका विद्यार्थी थिए। कतिपय आमाबुवा आफ्नो सन्तान चढेर आएको गाडी देखेर दङ्ग परेका थिए। गाउँ आइपुगियो भन्दाभन्दै गाडी खस्यो।”

“दशैँ मनाउन गाउँ फर्किएकाहरूले ज्यान गुमाए, घाइते भए। पर्वको बेलामा नगरपालिका नै बिस्मातमा परेको छ।”

घाइतेको उपचारमा स्वास्थ्यकर्मी।

घाइतेको उपचारमा स्वास्थ्यकर्मी।

नौ जना घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो भने चार जनालाई नर्सिङ होम नेपालगन्जमा लगिएको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयनका कारण घाइतेहरूको तत्काल उद्धार सम्भव भएको मल्ल बताउँनुहुन्छ।

यस वर्ष दशैँ अवधिमा भएको यो ठूलो दुर्घटना हो जसले व्यापक मानवीय क्षति गर्‍यो।

ज्यानमारा सडक
असोज २५ गते कास्कीको मोदी खोलामा जिप दुर्घटना हुँदा आठ जनाले घटनास्थलमै ज्यान गुमाए। काठमाडौँबाट घान्द्रुक गाउँ घुम्नका लागि हिँडेकाहरूको मृत्यु भएको हो।

असोज ३१ गते हास्य कलाकार मनोज गजुरेलले आफ्नो ब्लगमा आफ्नो मामाका छोराको मृत्युको खबर सार्वजनिक गर्नुभयो। जसमा उहाँले मृत्युको कारण “ज्यानमारा सडक” उल्लेख गर्नुभएको छ ।

गजुरेलले लेख्नुभएको छ, “२२ वर्षीय भाइ विवेक सापकोटा काठमाण्डूबाट मोटरसाइकलमा एक्लै पूर्व जाँदै थिए। २१ वर्षका दयारामसिंह राजवंशी झापाबाट चन्दनकुमारसहित पश्चिम आउँदै थिए।महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अमाहा भन्ने ठाउँमा दयारामको बाइक अनियन्त्रित भएर आफ्नो लेनमा कुदिरहेको विवेकको बाइकसँग जुध्न पुग्यो। विवेक र दयारामको मृत्यु भयो, चन्दन कुमार घाइते हुनुभयो।”

यी घटना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा आए। तर चाडपर्वमा हुने कतिपय सवारी दुर्घटना खबर बन्नु परको प्रहरीमा दर्ता समेत नहुने अधिकारीहरू बताउँछन्।

दशैँमा कति सवारी दुर्घटना ?
अघिल्ला वर्षहरूमा पनि दशैँका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखेका, मादक पदार्थ सेवन गरेर सवारी हाँकेका वा तीव्र गतिका कारण दुर्घटना हुने गरेका विवरण आउने गरेका थिए।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार असोज २१ गतेदेखि कार्तिक १ गतेसम्ममा नेपालभरि ८ सय ८३ वटा सवारी दुर्घटना दर्ता भए। दुर्घटनामा परी १ सय ६१ को मृत्यु भएको छ भने १ हजार ५ सय २ जना घाइते भएका छन्।

ूदशैँ अवधिभर देशमा भएका साना, ठूला दुर्घटना दर्ता हुन्छन्। लकडाउन अघिका वर्षहरूको ठूला दुर्घटना कम भए। तर जति भए त्यसमा मानवीय क्षति ठूलो भयो,ू नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो।

तथ्याङ्क तुलना गर्दा सङ्ख्यात्मक हिसाबमा दुर्घटना र मानवीय क्षति दुवैमा कमी आएको देखिँदैन।

गत वर्ष घटस्थापनादेखि पूर्णिमासम्ममा ८ सय ५६ वटा दुर्घटना प्रहरीमा दर्ता भएका छन्। जसमा परी १ सय १४ जनाको मृत्यु भएको थियो भने १ हजार २ सय ३६ जना घाइते भएका थिए।

त्यस्तै २०७६ सालमा ७०० वटा सवारी दुर्घटनामा पर्दा १ सय ११ जनाको मृत्यु र १ हजार १० जना घाइते भएका थिए।

फाइल फोटो
काठमाडौँ उपत्यकामा कति दुर्घटना ?

यो वर्ष दशैँ अवधिभर काठमाडौँ उपत्यकामा गम्भीर दुर्घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो।

उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ठूला दुर्घटना नभएको उहाँले बताउनुभयो।

दासले भन्नुभयो,”सामान्य दुर्घटनाहरू त भए। एउटा सवारीसाधनले अर्कोलाई ठक्कर दिने, साधन कोरिने वा अन्य क्षति भए। तर मानवीय क्षति भएन।”

कोरोनाभाइरस महामारी सुरु भएयताको चाडपर्वमा ठूला दुर्घटना न्यून भएको उहाँको दाबी छ।

यस पटक दशैँ केन्द्रित सडक सुरक्षा योजना र व्यवस्थापनका कारण पनि सवारी चाप भएको उपत्यकामा मानवीय क्षति हुने किसिमको दुर्घटना नभएको उहाँ बताउँनुहुन्छ।

“कडा निगरानी र कारबाहीका कारण दुर्घटना र क्षति कम भएका हुन्”, दासले भन्नुभयो।

निगरानीमा ट्राफिक प्रहरी।

निगरानीमा ट्राफिक प्रहरी।
असोज २३ गते यता २ हजार ७ सय जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको अवस्थामा भेटिए। उनीहरू कारबाहीमा परे।

त्यस्तै सोही अवधिमा ७ सय ५० जना तीव्र गतिमा सवारीसाधन हाँकेका कारण कारबाहीमा परे।

दशैँभर उपत्यकामा दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य दाबी गरिए पनि महानगरीय ट्राफिक प्रहरी महाशाखामा असोज २१ गतेदेखि कार्तिक १ गते भित्र दुर्घटनामा परी तीन जनाको मृत्यु दर्ता भएको छ।

सो अवधिमा कुल ३ सय ८ वटा सवारी साधन दुर्घटना हुँदा २ सय ६४ मानिस घाइते भएका छन्।

सडक सुरक्षाका लागि के गरियो ?

प्रहरी उपरीक्षक दास मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएकाहरूलाई कडा कारबाही गर्नुलाई सवारीसाधनको गम्भीर दुर्घटनामा कमी आउनुको प्रमुख कारण मान्छन्।

त्यस्तै गति नियन्त्रणका लागि सचेतना, चेतावनी र गति नियन्त्रण नगर्नेलाई कडा कारबाही भएको उहाँको तर्क रह्यो।

सार्वजनिक एवं लामो दूरीका सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिनुले पनि सडक सुरक्षा कायम गरेको बताउनुभयो।

काठमाडौं उपत्यकाभित्रका मूल सडक र चक्रपथमा ६ सय वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ।

जसका कारण सडक नियम पालना नगर्नेहरूविरुद्ध कारबाही सहज बनेको बताउँछन्।

Share Now

Leave a comment.