Prakash Adhikari October 20, 2021

काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापा वर्ष २०२१-२०२३ का लागि विश्व बैंक र आइएमएफको विधायिकी सञ्जालको सञ्चालक सदस्यमा निर्वाचित हुनुभएको छ ।

कांग्रेस युवा नेता थापाले आज आफ्नो ट्वीटरमा यसको जानकारी दिंदै खुसी लागेको बताउनुभएको छ ।

उहाँले “यस नेटवर्कको बोर्डमा रही विश्वका १ सय ४० भन्दा बढी देशका सांसदहरूसंगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न उत्साहित छु” भन्नुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जाल विश्व बैंक समूहको प्राथमिक संसदीय वार्ताकार समूह हो । यसमा विश्व बैंक र मुद्रा कोषका सदस्य राष्ट्रहरुका सांसदले विकास सहयोगमा बढ्दो उत्तरदायित्व र पारदर्शिताको वकालत गर्नेछन् ।

यसले सांसदहरुलाई स्थानीय राष्ट्रिय च्याप्टरहरु गठन गरी विश्व बैंकको राष्ट्रिय कार्यालय र विधायकहरुबीच सार्थक सलग्नता गर्न प्रोत्साहित गर्दछ ।

विश्व बैंकले क्षेत्रीय संसदीय संगठनहरु जस्तो युरोपियन पार्लियामेण्ट र पान अफ्रिकन पार्लियामेण्टसंग पनि वार्तालाई प्रबर्धन गर्न, सूचनाको साझेदारी गर्न र विकासका पैरवी गर्न निकट सम्बन्ध कायम गर्दै आएको छ ।

Share Now

Leave a comment.