भारदह(सप्तरी),१७ फागुन(रासस) । झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह पुगेका छन् ।
गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार आएको स्थानीयवासी आकाशराज भण्डारीले जानकारी दिए । गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएपनि उदितका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका थिए ।
स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाट गर्ने योजना रहेको बताए । साथै झाले मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपटक जन्मथलो भारदहमै मनाउने भएका छन् ।
गायक उदितनारायणले आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा गएर पूजापाठ गरे । पूजा गर्न मन्दिर पुगेका झालाई हेर्न स्थानीयवासीको भीड लागेको थियो भने उनीसँग सेल्फी खिच्न तँछाडमछाड थियो ।
बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवाद समेत भएको थियो । तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।