काठमाडौं, ५ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आएको छ।
ठूलो भौतिक क्षति व्यहोरेको करिब एक वर्षपछि पुनर्निर्माण सम्पन्न गर्दै कम्पनीले सोमबारदेखि टंगाल स्टोर सञ्चालनमा ल्याएको हो।
स्टोर पुनः सञ्चालनको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पनि टंगाल पुग्नुभएको थियो । कम्पनीका अनुसार सोमबार बिहान १० बजेदेखि स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको छ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भाटभटेनीको टंगाल स्टोरमा आगजनी गरेका थिए। आगलागीबाट स्टोरमा ठूलो क्षति भएपछि कम्पनीले पुनर्निर्माणको काम अघि बढाएको थियो। पुनर्निर्माण सम्पन्न भएसँगै टंगाल स्टोरलाई पुरानै सेवासहित सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ वटा स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौंडामा रहेका दुई स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको र ती स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले कठिन परिस्थितिका बीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।








