Prakash Adhikari October 21, 2021

काठमाडौं, ४ कार्तिक । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परि बिहीवार दिउँसोसम्म देशभर १०१ जनाको मृत्यु भएको छ।

प्रदेश नम्बर एकमा सबैभन्दा धेरै ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१, कर्णाली प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको प्रहरीको विवरण छ।

प्रदेश नम्बर एक मा १९ जना, सुदूरपश्चिम प्रदेशमा १७ र कर्णाली प्रदेशमा ४ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।

प्रहरीले देशभर ४१ जना हराइरहेको जनाएको छ।

क्षति

बाढीले २ हजार २ सय ३२ वटा घर डुबाएको र १ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसै साता भएका विपद्का घटनाबाट १ हजार १ सय ७७ घर परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोका घटनामा हराइरहेका मानिसहरू जीवितै भेटिने सम्भावना कम भएकाले मृतकको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने अधिकारीहरूले बताएका छन्।

“बेपत्ता भनिएका धेरैजसो पहिरोमा पुरिएका मान्छेहरू छन्”,गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भन्नुभयो . “पहिरोमा पुरिएका र बाढीमा डुबेका मानिस अब बाँच्ने सम्भावना हुन्छ जस्तो मलाई लाग्दैन।”

सुदूरपश्चिम प्रदेशको बझाङमा मात्रै गत मङ्गलवार बिहान गएको पहिरोमा पुरिएर २३ जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको मात्रै शव भेटिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ।

“एक किलोमिटर माथिबाट आएको पहिरोले गाउँ नै बगेर गएको छ। घरको नै कुनै नामनिसान नभएको अवस्था छ। भेटिएका शवहरू पनि क्षतविक्षत अवस्थामा छन्”, अधिकारीले भन्नुभयो।

कैलालीको बाढी

कैलालीको बाढी

खोजी जारी
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी राखेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बझाङ, धनकुटा, इलाम र पाँचथरसहितका क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरबाट राहत र घाइतेहरूको उद्धारको काम भइरहेको छ।

गत आइतवारबाट तीन दिनसम्म परेको बेमौसमी भनिएको वर्षाले १९ जिल्ला प्रभावित भएका छन्।

वर्षाका कारण प्रभावित जिल्लाहरूमा अवरुद्ध भएका राजमार्ग र भित्री सडकहरू सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षाका कारण अवरूद्ध विद्युत् र सञ्चार सेवा अधिकांश स्थानमा फेरि सञ्चालनमा आएका छन्।

पानी जमेका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल बुधवार र बिहीवार बन्द रह्यो। पानी पसेर विमानस्थल जनमग्न भएको अधिकारीहरूले बताएका छन्।

मौसम विज्ञान विभागले पश्चिमी क्षेत्रमा बुधवारबाटै पानी रोकिएको र बिहीवारपछि पूर्वी क्षेत्रमा पनि मौसममा सुधार हुने जनाएको छ।

आरोही समेत बेपत्ता

सगरमाथा क्षेत्रको मेरा पिक क्षेत्रमा एक जना आरोही तीन दिनदेखि सम्पर्कविहीन छन्।

आरोहण गरी फर्किने क्रममा हिमपातका कारण बाटोमै फसेका चार विदेशी आरोही र एक नेपाली पथप्रदर्शकको उद्धार गरी बिहीबार काठमाडौं ल्याइपुर्‍याइएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ।

उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ।

हुम्लाको तुम्लिङमा अलपत्र परेका केही विदेशी नागरिकलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको छ।

हुम्लाको तुम्लिङमा अलपत्र परेका स्लोभेनियाका नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो

प्रधानमन्त्री निरीक्षणमा

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम र कर्णाली प्रदेश पुग्नुभएको छ।

बझाङ, डोटी र बैतडीसहितका क्षेत्रमा पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जानुअघि सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले क्षतिको मूल्याङ्कनपछि पुनर्निर्माणको योजना बनाउने बताउनुभयो।

बाढीपहिरोको असरबारे व्यापक अध्ययन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस विपत्तिमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग, जमिन गुमाउनेलाई जग्गा र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो।

 

इनरुवमा बाढीमा परेको बस

“परिवारको कोही दिवङ्गत भएको भए दुई लाख रुपैयाँ राहत दिने र सोही परिवारका थप अरू दिवङ्गत भएको भए थप एक लाख दिने निर्णय भएको छ”, गृहमन्त्री बालकृष्ण खाणले भन्नुभएको छ।

उद्धार तथा राहतमा तीनवटै तहका सरकार मिलेर काम गरिरहेको गृह मन्त्रालयका प्रवक्ता पोखरेल बताउनुहुन्छ ।

“जिल्ला विपद्‌ व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तह मिलेर उद्धारकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ्।

भारतमा पनि बाढीको वितण्डा

नेपालको सीमावर्ती भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोका कारण कम्तीमा ५५ जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोका कारण राज्यमा शिक्षणसंस्थाहरू बन्द गरिएको छ।

बाढीले भारतको कुमाउँ र पर्यटकीय क्षेत्र नैनीतालवरपर बढी क्षति पुर्‍याएको छ।

हृषीकेश क्षेत्रमा गङ्गा नदीको बाँध भत्किएर थप क्षति भएको बताइएको छ।

भारतको उत्तराखण्डको कुमाउँमा १ सय २४ वर्षमा सर्वाधिक वर्षा भएको बताइएको छ

नैनीताल क्षेत्रसँग जोडिने सबै सडकहरू अवरूद्ध भएको र उद्धारका लागि सैनिकहरू हिँडेर गइरहेको अधिकारीहरूले बताएका छन्।

भारतको केरला राज्यमा पनि शुक्रवारबाट जारी वर्षाका कारण २७ जनाले ज्यान गुमाइसकेका छन्।

मौसम पूर्वानुमानहरूले अझै केही दिन सो क्षेत्रमा वर्षा जारी रहने देखाएका छन्।

Share Now

Leave a comment.