काठमाडौं, ४ कार्तिक । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ ।
बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको जानकारी दिनुभएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले प्रदेशसभाको कार्यकालको आधा–आधा समय एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको बताउनुभयो ।
बिहीबार गठबन्धनका दलहरुबीच ३ बुँदे सहमति भएको र त्यसमा बजेट, मन्त्रिपरिषद गठन र राजनीतिक नियुक्ति सहमतिका आधारमा गर्ने उल्लेख गरिएको छ।
हाल बागमतीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुहुन्छ । उहाँले विश्वासको मत लिनेसम्बन्धमा प्रदेश सभामा पेश गर्नुभएको प्रस्तावमा कात्तिक १० गते मतदान हुने भएको छ ।
२०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट गठन भएको बागमती प्रदेशसभाको ५ बर्षे कार्यकाल आगामी बर्ष समाप्त हुँदैछ।


















