आबुधाबी(संयुक्त अरब इमिरेट्स), १० कार्तिक । युएईमा जारी टी ट्वान्टी विश्वकप अन्तर्गत बुधबारको खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
शेख जायद स्टेडियम, अबुधाबीमा बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले मात्र २ विकेटको क्षतिमा३५ बल बाँकी रहँदै भेटायो।
इंग्ल्याण्डको जितमा ओपनर जेसन रोयले ६१ रन बनाए भने डेविड मलानले अविजित २८ तथा जोस बटलरले १८ रन बनाए।
यस पहिलो टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट क्षतिमा १ सय २४ रन मात्र बनाउन सकेको थियो। उसको लागि मुस्फिकुर रहिमले सर्वाधिक २९, नसुम एहमद र महमुदुल्लाहले समान १९।१९ रन तथा नुरुल हसनले १६ रनको योगदान दिए।
बंगलादेशलाई रोक्न इंग्ल्यान्डका बलर टाईमल मिल्सले सर्वाधिक ३ विकेट लिए भने मोईन अलि र लियम लिभिंगस्टोनले समान २ । २ विकेट तथा क्रिस वोक्सले १ ।१ विकेट लिए।
जितपछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्ष स्थानमा उक्लेको छ जसले दुवै खेलमा जित दर्ता गर्दा ४ अंक बटुलेको छ। पहिलो खेलमा इंग्ल्यान्डले वेस्टइन्डिजलाई पराजित गरेको थियो।
लगातार दोश्रो हार पछि बंगलादेश भने पाँचौ स्थानमा रहेको छ। वेस्टइन्डिज पनि २ हारको साथ पुछारमा छ। इंग्ल्यान्डले आगामी खेल अस्ट्रेलियासंग अक्टोबर ३० तारिखमा तथा बंगलादेशले अक्टोबर २९ तारिखमा वेस्टइन्डिजसंग खेल्नेछन्।


















