दुबाई(संयुक्त अरब इमिरेट्स), २३ कार्तिक । टी २० विश्वकप क्रिकेट अन्तरगत दुवाईमा भएको समूह चरणको अन्तिम खेलमा नामिबियालाई ९विकेटले पराजित गर्दै भारतले आफ्नो यात्रा समापन गरेको छ ।
प्रतियोगिताका प्रारम्भिक खेलहरुमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित हुनु नै भारतको असफलताको कारण बन्यो । उसले पछिल्ला तीन खेलमा लगातार अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो तर यतिले जोडिएको ६ अंक उसलाई दोस्रो चरणमा पुर्याउन पर्याप्त भएन । समुह ‘२’ को तेश्रो स्थानमा सीमित भयो । समूहका शीर्ष दुई सेमिफाइनलमा पुग्ने नियमानुसार पाकिस्तान र न्युजिल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।
नामिबियाले स्कटल्याण्डसंग जित दर्ता गर्दा अन्य ४ खेलमा हार ब्यहोर्यो।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा नामिबियाले दिएको १ सय ३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर हासिल गर्यो।
भारतको इनिड.मा भारतीय ओपनर रोहित शर्माले ५६ रन बनाए भने केएल राहुलले अविजित ५४ रन बनाए । त्यस्तै सुर्यकुमार यादवले अविजित २५ रन बनाए।
भारतलाई रोक्ने क्रममा नामिबियाका फ्राईलिंकले क्याच आउटबाट एक विकेट लिए ।
यस अगाडि टस हारेर ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट क्षेतीमा १ सय ३२ रन बनाएको थियो। उसको लागि डेभिड विजाले सर्वाधिक २६ रन बनाए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले अविजित १५, माइकल भान लिंगेनले १४, रुबेन ट्रंपलम्यानले अविजित १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए।
नामिबियालाई रोक्नेक्रममा भारतीय बलर रभीचन्द्रन आश्विन र रभीन्द्र जडेजाले समान तीन विकेट लिए भने जस्प्रित बुम्राहले २ विकेट लिए।


















