Prakash Adhikari November 9, 2021

काठमाडौं, २३ कार्तिक ।  कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खान्छन् । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउनुहुन्छ ।

पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी गौरीघाट क्षेत्र र कमलपोखरीमा विशेष चहलपहल छ ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा बुधबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य चढाउन ६७५ वटा छठ घाटअर्थात् पूजा स्थल बनाइएको उहाँले सुनाउनुभयो । यसमध्ये ३० वटा घाट भने निःशुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले रु एक हजार १०० शुल्क बुझाउनुपर्ने समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण गुह्येश्वरी गौरीघाट क्षेत्रमा बृहत्रुपमा छठ नमनाइएकाले वाग्मती नदीलाई सम्याएर व्यवस्थित बनाउन असहज भएको समिति सदस्य सिंहले सुनाउनुभयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी पूरा भएको छ । कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको संयोजन एवं समन्वयमा छठ पूजा गरिने जनाइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा समापन हुन्छ । गत वर्ष घरको छतमा छठ पर्व मनाएका बर्तालु यस वर्ष पनि कोरोनाको जोखिम केही कम भए पनि पूर्णरुपमा अन्त्य नभएकाले विसं २०७६ मा जति छठ घाट ‘बुकिङ’ गर्न नआएको समितिले जनाएको छ ।

मिथिलाको ‘खरना’  तयारी

लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।

पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।

छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पु¥याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ । इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका बर्तालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ । सबै धर्र्म, संस्कृति, वर्ग र तप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीले बताउनुभयो ।

Share Now

Leave a comment.