दोहा(कतार), ३० कार्तिक । कतारमा भ्रमण श्रृखला अन्तरगत आज भएको पहिलो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले चमत्कारी प्रदर्शन गर्दै कतारी महिला टिमलाई विशाल अन्तरले पराजित गरेको छ ।
कतारको वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाली महिला टोलीले दिएको १ सय ४७ रनको लक्ष्य कतारी महिला टोलीले पूरा गर्न सकेन ।
२० ओभरको निर्धारित खेलमा उनीहरुले ११.५ ओभरमा सबै विकेट गुमाउदै जम्मा २७ रन जोडे र नतिजा नेपाललाई सुम्पिए ।
कतारको ब्याटिड.मा खादिली इम्तियाज र इन्जिली मारेले ८। ८, केरी पाउण्ट सेटले ७, रिज्फा बानो इमानुयलले ३ रन बनाए ।
कतारलाई रोक्ने क्रममा नेपालकी रुविना क्षेत्रीले ३, कविता कुँबर र सीता रानामगरले २ । २ तथा करुणा भण्डारीले १ विकेट लिए ।
यस पहिले ब्याटिड गरेको नेपाली महिला टोलीले २० ओभरको निर्धारित खेलमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो ।
नेपालका लागि इन्दुबर्माले ५५, सीता राना मगरले ३९ सरिता मगरले २१ कविता कुँबरले ८ र काजल श्रेष्ठले ३ रनको योगफल तयार पारेका थिए ।
नेपाललाई रोक्ने क्रममा कतारका एञ्जेलिना मारे र सविजा पानायानले एक एक विकेट लिएका थिए ।
खेलमा प्लेयर अफ दि म्याच नेपालकी इन्दु बर्मा भइन ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले कतार भ्रमण अन्तर्गत तिन वटा टी २० अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
नोभेम्बर २२ तारिख देखि युएईमा सुरु हुने टी २० विश्वकप एसिया छनोट प्रतियोगिता अघि नेपाली टिमले अभ्यास खेलको रुपमा सिरिज खेल्न लागेको हो।
सिरिज अन्तर्गत नेपालले नोभेम्बर १७ र १८ तारिखमा अर्को दुई खेल खेल्ने तालिका छ।
कतार भ्रमण गर्नु अघि नेपाली टिम बंगलादेश भ्रमणमा पुगेको थियो जहाँ बंगलादेश कृरा शिक्षा प्रतिष्ठानसंग तिन वटा टि(२० को सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले २ १ ले जितेको थियो।
अन्तर्राष्ट्रिय वरियता नपाएको कतारको तुलनामा नेपाल टी २० अन्तर्राष्ट्रिय महिला वरियतामा १४ औं स्थानमा छ। नेपालसंग खेलेपछि कतार महिला क्रिकेट टिम पनि टी २० अन्तर्राष्ट्रिय वरियतामा समाबेश हुनेछ।
गत वर्ष जनवरीमा कुवेत र ओमानसंग त्रिकोणात्मक टी २० सिरिज खेल्दै टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको कतारले उक्त सिरिजमा खेलेको ४ वटा खेल मध्ये एक खेलमा कुवेतलाई पराजित गर्न सफल भएको थियो।


















