Prakash Adhikari November 20, 2021

काठमाडौं, ४ मंसिर । सत्तारुढ गठबन्धनको महत्वपूर्ण घटक मानिएको नेपाल कम्युनिष्ट पार्टी( नेकपा(माओवादी केन्द्रले शनिबार एकैपटक देशभर वडा सम्मेलन गर्दैछ ।

नेकपा माओवादीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर ४ गते देशभरका वडामा नेतृत्व चयन हुने र मंसिर ११ गते पालिका अधिवेशन गरेर नेतृत्व चयन गर्ने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडा र पालिकापछि मंसिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने जानकारी दिनुभएको थियो ।

त्यसक्रममा उहाँले निर्वाचन नियमावली र आचारसंहिता पारित गरि सोही अुनसार पार्टी कमिटीका नेता कार्यकर्ताहरूलाई अभिमुखीकरण तालिम दिएको बताउनुभयो ।

त्यस्तै वडा, पालिका र प्रदेशस्तरीय निर्वाचन समितिहरु गठन गरिएको पनि सो पार्टीले जनाएको छ । प्रदेशमा ७, पालिकामा ५ र वडा तहमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको माओवादीले जनाएको छ । माओवादीले वडादेखि केन्द्रसम्मको निर्वाचन सम्पन्न गरेपछि करिव ३ लाख कार्यकर्ता विभिन्न तहमा निर्वाचित हुने जनाएको छ ।

त्यस्तै ८ हजार भन्दाबढि समितिहरु बन्ने तथा पार्टीलाई विधि, पद्दति र प्रक्रियाका आधारमा संगठित गर्दै नेपाली जनताका समस्याहरु समाधान गर्ने पार्टी निर्माण गर्ने योजना अन्र्तगत विभिन्न तहमा निर्वाचन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

वडा सम्मेलनको पूर्वसन्ध्यामा शनिबार प्रेस वक्तव्य जारी गर्दै माओवादी पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले वडा सम्मेलनको शुभकामना दिंदै देशमा आमूल परिवर्तनका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको माओवादीले अंगालेको समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन आवश्यक रहेको पनि बताउनुभएको छ ।

पार्टीको वडा सम्मेलनमा कुनैपनि विभाजित मनोविज्ञान मानसिकता नराख्न पनि माओवादीले अपिल गरेको छ ।

प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वडा सम्मेलनमा कुनैपनि विभाजित मनोविज्ञान र मानसिकता नराखि एकतावद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ र रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछु ।

Share Now

Leave a comment.