Prakash Adhikari November 20, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ४ मंसिर (बीबीसी) । राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बन्नुभयो।

बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो।

प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए जसमा उहाँ स्वस्थ अनि आफ्नो काम गर्नका लागि सक्षम रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उहाँको चिकित्सकीय परीक्षण गरिएको हो।

अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गर्नुभएको थियो।

ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुनुहुन्छ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताउनुभएको छ।

“सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुस यस्तै प्रक्रियामा संलग्न हुँदा यस्तै गरिएको थियो”, एक विज्ञप्तिमार्फत साकीले भन्नुभयो।

राष्ट्रपति जो बाइडन

राष्ट्रपति जो बाइडन

ह्वाइट हाउसमा फर्कँदै गर्दा राष्ट्रपति बाइडनको अनुहारमा मुस्कान थियो।

ुुम राम्रो महसुस गरिरहेको छु,ुु उहाँले भन्नुभयो।

अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने बाइडन हालसम्म सबैभन्दा पाका व्यक्ति हुनुहुन्छ।

सन् २०१९ को डिसेम्बर महिनामा उहाँको पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

Share Now

Leave a comment.