काठमाडौं, ४ मंसिर । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौं आउनुभएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश प्रस्थान गर्नुभएको छ।
तीनदिने नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा। नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो।
उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप केन्द्रको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गर्नुभएको थियो।
सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतिरमण पौडेलले बिदाइ गर्नुभएको थियो।


















