धुन्चे(रसुवा),७ मंसिर । विश्व बैंक समूहको आईएफसी, कोरिया तथा नेपाली लगानीकर्ताको संयुक्त लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत ठेकेदारलाई स्थानीयले आक्रमण गरेका छन् ।
काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् ।
कुटपिटबाट दुई चिनियाँ प्राविधिक घाइते भएको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले अडिट सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण गरिरहेको छ ।
आयोजनालाई स्थानीयले अति नै दुःख दिएपछि निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूतावास र गृहमन्त्रालयमा यसबारे जानकारी गराएको छ ।
माथिल्लो त्रिशूली-१ मा काम नदिएको भन्दै विदेशी लगानीमा रसुवामा बनिरहेको आयोजनामा कोरियन ठेकेदार माथी स्थानीय युवाहरूँ द्वारा आक्रमण pic.twitter.com/yMinFxacXd
— kiran joshi (100% Follow Back) (@kiranjoshi235) November 22, 2021
‘अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी(को लगानी भएकाले आयोजनामा ‘स्वतन्त्र पूर्व सूचित सहमति’ गराएका थियौं, तर यसकै कारण आयोजनामा बारम्बार अवरोध हुन थालेका छ,’ ती अधिकारीले भने,’दातृ निकायले स्थानीयलाई जे माग गरेपनि पुरा हुनुपर्छ भन्ने गलत सन्देश दिइएकाले समस्या बढिरहेको छ ।’
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ , तर चिनियाँ कम्पनी सिनो हाइड्रोले उपठेकेदारको रूपमा काम गरिरहेको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड (कोएन) र विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ ।
साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) कुल लागत अनुमान रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।
आयोजनाबाट वाषिर्क रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वाषिर्क ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली ३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।
वर्षायामभरि आयोजनाबाट १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ भने आयोजनाको निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य राखिएको छ ।


















