Prakash Adhikari November 23, 2021

बार्सिलोना(स्पेन), ७ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न रोक लगाएको छ ।

मन्त्रालयले एक पत्र लेखी दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको हो ।

परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई मंसिर ३ गते लेखेको पत्रमा भनिएको छ, ‘हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू ।’

 

मुद्दामा जाने

एनआरएनए अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्देशन ठाडो राजनीतिक हस्तक्षेप रहेको भन्दै न्यायिक लडाईंमा जाने बताउनुभएको छ। विधान बमोजिम नै आफ्नो एनआरएनको कार्यकाल थप गरिएको भन्दै अध्यक्ष पन्तले परराष्ट्र निर्देशनको विरुद्ध कानुनी लडाईंमा जाने बताउनुभयो ।

‘यो सिधैं राजनीतिक हस्तक्षेप हो । विधान विपरीतको निर्देशन हामी कुनै पनि हालतमा मान्दैनौं । समयमा नै निर्वाचन हुनेमा गैर आवासीय नेपालीहरुलाई ढुक्क हुन अनुरोध गर्दछु ।’अध्यक्ष पन्तले भन्नुभयो ।

वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पूरा भइसकेको भन्दै परराष्ट्र मन्त्रालयले उसलाई संस्थालाई दूरगामी असर गर्ने कुनै कार्य नगर्न, नगराउन पनि निर्देशन दिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बरको १९ र २० तारेखमा काठमाडौंमा गर्ने घोषणा गरेको थियो ।

अध्यक्ष कुमार पन्तले आफूले विवाद मिलाउन अन्तिमसम्म प्रयास गरिरहने भन्दै परराष्ट्रको निर्देशनपछि गैर आवासीय नेपालीहरुलाई कत्ति पनि विचलित नहुन अनुरोध गर्नुभएको छ ।

अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको कार्यसमितिले ६ महिना कार्यकाल थप गर्दै डिसेम्बर १५ मा निर्वाचन मिति तोकेको थियो ।

परराष्ट्र पछिल्लो निर्देशनले एनआरएए विवाद जटिल मोडमा पुगेको छ । यस पहिले तय भएको महाधिवेशन पनि प्रतिनिधि चयनमा अनियमितता भएको सप्रमाण उजुरी परेपछि परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेर रोकेको थियो ।

परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीद्वारा हस्तक्षरित पत्र पछिल्ले पत्रमा संरक्षक परिषदले संस्थाको संरक्षण गर्ने व्यवस्था रहेको भन्दै मंसिर ३ मा भएको मन्त्रालयको निर्णय बमोजिम नै निर्देशन गरिएको उल्लेख छ ।

हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न संरक्षक परिषदलाई अनुरोध गरिएको छ । संघको प्रमुख संरक्षकमा पूर्व अध्यक्ष शेष घले रहनुभएको छ ।

Share Now

Leave a comment.