Prakash Adhikari November 23, 2021

स्वेच्छा राउत /बीबीसी न्यूज नेपाली

खलंगा(दार्चुला), ७ मंंसिर ।राष्ट्रिय जनगणना २०७८ का लागि दार्चुलाका केही दुर्गम स्थानसम्म पुग्न गणकहरूले केही समय कुर्नुपर्‍यो। भारतीय बाटो गर्ने अनुमति नपाएकाले हेलिकप्टरबाट कर्मचारी पठाउने विषयमा पनि अधिकारीहरूले विचार गरेका थिए। तर जनगणनाका लागि कर्मचारीहरू तीन दिन हिँडेरै व्यास गाउँपालिका पुगेका छन्।

दुई कर्मचारी र बाटो देखाउनका लागि एक स्थानीयवासीसहित तीन जनाको समूह गणनाका लागि पुगेको दार्चुलाका जनगणना अधिकारी पदमराज पाण्डेले जानकारी दिनुभयो। सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कर्मचारी लोकेन्द्रबहादुर टेर शुक्रवार दिउँसो छाङ्ग्रु पुग्नुभएको हो।

“फारम भर्ने काम सुरु भएको छ। काम सम्पन्न भएपछि हाम्रा कर्मचारीले खबर गर्नुहुन्छ। फर्काउने काम चाहिँ हेलिकप्टरमार्फत् गर्ने पहल भइरहेको छ,” पाण्डेले भन्नुभयो।

हेलिकप्टरको प्रयोगबारे केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक हेमराज रेग्मीले ूखर्चमा मितव्ययिताू अपनाउने उद्देश्यअनुरूप हेलिकप्टरलाई विकल्प नबनाएको बताउनुभयो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले व्यास गाउँपालिकाको छाङ्ग्रु र तिन्कर गाउँमा भारतीय भूमि हुँदै जनगणना गर्न जाने अनुमति मागेको करिब १५ दिन भयो। तर भारतको पिथौरागढ जिल्ला अधिकारीले सडक अवरुद्ध भएको भन्दै अनुमति पत्र उपलब्ध गराएनन्।

गणना गर्ने मिति सकिनै लाग्दा गणकहरू जोखिमपूर्ण भए पनि नेपालकै बाटो हिँडेर त्यहाँ पुगेका हुन्। उनीहरू दार्चुला सदरमुकाम खलङ्गाबाट ४० किलोमिटर पर सिन्सेरासम्म सवारीसाधन चढेर र त्यसपछि पैदल हिँडेर गन्तव्य पुगेका थिए।

व्यास गाउँपालिको बाटो

व्यास गाउँपालिको बाटो

किन गर्नुपर्‍यो जोखिमपूर्ण यात्रा ?

व्यास गाउँपालिकाको छाङ्ग्रु र तिन्करमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न समय लाग्यो। देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण त्यसो भएको व्यास(१ का वडाध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो।

उहाँका अनुसार तिन्कर र छाङ्ग्रुबाट सदरमुकामसम्म पुग्न पैदल पाँच दिन लाग्छ। सवारीसाधन उपलब्ध भएको खण्डमा साढे तीन दिनदेखि चार दिनमा यात्रा पूरा हुन्छ।

“हिँड्ने गोरेटो पनि जोखिमपूर्ण छ। भारतको बाटो प्रयोग गर्नुको विकल्प छैन,” बोहराले भन्नुभयो,”खाजा खानका लागि पनि दुपाके भन्ने ठाउँ मात्र छ। कर्मचारीहरू सायद त्यहीँ ठाउँमा खाजा खाएर करिब पाँचदेखि छ घण्टामा छाङ्ग्रु पुग्नुहुन्छ।”

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतले बाटो प्रयोग गर्न नदिन विभिन्न बहाना बनाएका कारण कर्मचारीहरूलाई पैदल पठाउनुपर्ने स्थिति आएको जानकारी दिनुभयो।

“त्यस बाटोमा अरूहरू हिँडेकै छन्, गाडी चलिरहेकै छ। गणकहरूलाई मात्र जान अनुमति नदिनु भनेको बहाना बनाउनु नै हो,” जोशीले भन्नुभयो।

नेपालको नक्सामा समाविष्ट तर नियन्त्रणमा नभएको ठाउँमा पनि नेपालले जनगणना गर्छ भन्ने आशङ्काका कारण अनुमति नदिइएको उहाँको ठम्याइ छ।

हिउँदमा छाङ्ग्रु र तिन्करका मानिस जाडो छल्न अन्यत्र जान्छन्
हिउँदमा छाङ्ग्रु र तिन्करका मानिस जाडो छल्न अन्यत्र जान्छन्

“कुती, गुन्जीलगायतका ठाउँमा पनि जनगणना गर्न सक्छन् भन्ने आशयले त्यहाँ जाने अनुमति नदिएको हुनसक्छ,” उहाँले भन्नुभयो,”विवादित भूभागमा हालसम्म गणना भएको छैन। त्यसका लागि दुवै देशका बीचमा कूटनीतिक छलफल र सहमति नभए तत्काल ती ठाउँमा स्थलगत गणना सम्भव छैन।”

तथ्याङ्क विभागले नेपालको आधिकारिक नक्सामा थपिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा गणकहरू नै गएर जनगणना गर्न सम्भव नभए स्याटलाइटमार्फत् गरिने जनाएको थियो।

विवादित भूभाग भारतीय सेनाको नियन्त्रणमा छ। त्यहाँ जनगणनाका लागि ‘कूटनीतिक पहल भइरहेको र अझै केही दिन पर्खनुपर्ने’ विभागका उपनिर्देशक रेग्मीले बताउनुभयो।

“कार्तिक ९ गतेसम्म पर्खन्छौँ। त्यति बेलासम्म केही नभए एउटा बैठक बसेर निष्कर्ष निकाल्छौँ,” रेग्मीले जानकारी दिनुभयो।

दार्चुला

दार्चुला

छ महिना मात्र बस्छन् ती गाउँमा मानिस

जुन ठाउँको जनसङ्ख्या र अन्य विवरण लिन सरकारी कर्मचारी साढे तीन दिन हिँडे, ती गाउँमा मानिसहरू छ महिना मात्र बस्छन्। हिउँदमा तापक्रम ह्वात्तै घट्ने र हिउँले जनजीवन प्रभावित हुने भएकाले मानिसहरू दार्चुला जिल्लाको तल्लो भेगमा सर्छन्।

छाङ्ग्रु ३ हजार २ सय मिटरको उचाइमा छ। त्यस्तै तिन्कर ३ हजार ६ सय मिटरको उचाइमा। यी दुई स्थानबीच झन्डै १२ किलोमिटरको दूरी छ।

प्रत्येक वर्ष मंसिर लागेपछि त्यहाँका गाउँलेहरू ओरालो लाग्छन्। बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा पुग्छन्। छ महिना जाडो छलेर मध्य वैशाखमा मात्र गाउँ फर्किन्छन्।

वडाध्यक्ष बोहराका अनुसार तिन्करका मानिसहरू सबैले गाउँ छाडिसके।

तीमध्ये कोही खलङ्गा पुगिसकेका छन् भने बस्तुभाउ लिएर हिँडेका कोही बाटोमै छन्। बिहीवारसम्म उनीहरू सबै खलङ्गा पुग्छन्।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट गरी नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच तनाव बढेको थियो

भारतकै बाटो प्रयोग गरे पनि खलङ्गा पुग्न, गाईबस्तु लिएर हिँडेकाहरूलाई पाँच दिन र बस्तु नडोहोर्‍याएकाहरूलाई चार दिन लाग्ने उहाँले बताउनुभयो।

“तिन्करका जनताको गणना सदरमुकाममै गर्छौँ। पहिले छाङ्ग्रुको सकेर कर्मचारी फर्कनुपर्‍यो,” गणना अधिकृतले भन्नुभयो।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट गरी नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच तनाव बढेको थियो
नेपालले लिम्पियाधुरा र लिपुलेकमा कसरी गर्ला जनगणना

दुई महिनाअघि भएको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि भने सुपरिवेक्षकहरू भारतीय बाटो हुँदै छाङ्ग्रु र तिन्कर पुगेका थिए।

सूचीका अनुसार दुई गाउँमा गरी ११५ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घर छन्।

हाल प्रहरी, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत सरकारी कार्यालयहरू खलङ्गा सारिएको छ। चिसो कम भएपछि मात्र व्यास गाउँपालिका वडा नम्बर १ का भनेर गनिएकाहरूले त्यस ठाउँमा बस्न सक्छन्।

Share Now

Leave a comment.