Prakash Adhikari November 24, 2021

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको १४ आं महाधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनका क्रममा सोलुखुम्बु र डोटी जिल्लामा भएको निर्वाचनमा सभापतिका उम्मेद्वारहरुले बहुमत अर्थात ५१ प्रतिशत मत हासिल गर्न नसकेपछि पुन मतदान हुने भएको छ ।

नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन । जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।

पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार भएको खण्डमा कुनै पनि उम्मेदवारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो । कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो । सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गर्नुभएको थियो । सबैभन्दा कम मत प्राप्त गर्नुभएका उम्मेदवार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ । मङ्सिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

डोटीमा सभापतिका लागि पुनः मतदान

नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।

जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए । नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गर्नुभएको थियो । एकाउन्न प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने कांग्रेसको विधानमा व्यवस्था छ । जिल्लामा कूल एक हजार १०७ मतदाता छन् ।

Share Now

Leave a comment.