काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको १४ आं महाधिवेशनका क्रममा हालसम्म भएका जिल्ला अधिवेशन र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको नतिजालाई आफू अनुकूल ब्याख्या गरेर नेपाली कांग्रेसमा बाँकी अधिवेशनलाई आफ्नो पक्षमा पार्न अनौठो प्रचारयुद्ध सुरु भएको छ ।
बुधबार एनसी सूचना केन्द्र (NC suchanakendra) बाट प्रारम्भिक परिणाम पौडेलको पक्षमा, ५ प्रदेशमा देउवा अल्पमतमा भन्ने शीर्षकमा बनिबनाउ एक समाचार विश्लेषण आयो । जसमा सभापति देउवा विरोधी खेमाले ६५ प्रतिशत मत ल्याउने विश्लेषण गरिएको थियो । त्यसको केही घण्टापछि एनसी सूचना केन्द्र(NC SUCHANA KENDRA)बाट अर्को बनिबनाउ विश्लेषण आयो जसमा सभापति देउवाले पहिलो चरणमा नै बहुमतले जित्ने दाबी गरिएको छ । पढनुहोस् त दुईथरी विश्लेषण:
प्रारम्भिक परिणाममा देउवा निकै अगाडि, सुर्खेतलगायतका जिल्लामा पौडेल पक्ष शून्य
नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिन्नभिन्न अवस्थामा रहेको रामचन्द्र पौडेल गुटका लागि निकै खराब हुने देखिएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा सभापति शेरबहादुर देउवा निकै अगाडि देखिएपछि पौडेल पक्ष तिल्मिलाएको छ । हालसम्म ७ मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुर्खेत, डोल्पा, म्याग्दी लगायतका जिल्लामा पौडेल पक्ष शून्य भएको छ भने सुदुरपश्चिमसहितका प्रदेशमा देउवा पक्ष निकै बेलियो देखिएको छ ।
पौडेलको गृह जिल्लामै देउवा समर्थित प्रतिनिधिहरुको संख्या बढेको छ । पौडेलले जित निश्चित भएको भनिएको जुम्लामै देउवा समर्थित नेता सभापतिमा विजयी भएका छन् ।
सुर्खेतमा पौडेल पक्षले लज्जाजनक हार ब्यहोरेको छ । पौडेल निकट पूर्व मन्त्री शिवराज जोशी र पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा नराम्ररी हारेका छन् । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा देउवा पक्षले प्यानलै जितेको छ । उसो त पौडेलको दाहिने हात मानिएका हृदयराम थानीले कर्णाली पौडेल पक्षको भोट बैंक भन्ने गरे पनि परिणाम त्यस्तो नआएको बताएको छ ।
लुम्विनी प्रदेशमा पनि ५५ प्रतिशतको हाराहारीमा महाधिवेशन प्रतिनिधि जितेको दावी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा देउवा पक्षले महाधिवेशन प्रतिनिधिमा बाजी मारेको छ ।
गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाको गठबन्धनबीच नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ , लमजुङ र कास्कीमा देउवा पक्ष निकै बलियो बनेर आएको छ । पौडेलकै प्रदेश गण्डकीको म्याग्दीलगायतका जिल्लामा पौडेल पक्ष शून्यमा झरेको छ ।
बागमती प्रदेशका अधिकांश जिल्लामा देउवा पक्ष नै बलियो देखिएको छ । काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा देउवा निकटले जीत निकालेका छन् । मकवानपुर र ललितपुरमा त देउवा पक्षले कब्जा नै जमाएको छ ।
प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु नभए पनि देउवा पक्ष निकै बलियो रहेको विश्लेषण गर्न थालिएको छ । सभापति उम्मेदवार बन्छु भनिरहेका विमलेन्द्र निधिले रामचन्द्र पौडेलसँग गठबन्धन बनाउन खोजे पनि त्यो सम्भव नभएपछि प्रदेश २ मा देउवा पक्ष नै बलियो हुने देखिएको छ । प्रदेश १ मा डा.शेखर कोइरालालाई चक्मा दिने गरी देउवा पक्ष हावी भएको छ । देउवापछि कोइराला र कृष्णप्रसाद सिटौलाको मत बराबरी अवस्थामा देखिएको छ ।
देउवाको सचिवालयले तयार पारेको विवरणमा अहिलेसम्मको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । सचिवालयका एक सदस्यका अनुसार यस पटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण गरिएको छ । अन्य पक्ष जोडिंदा पनि ४५ प्रतिशतमा खम्चिने र उनीहरु छिन्नभिन्न भइरहँदा महाधिवेशन प्रतिनिधिमा निरासा आई देउवाको पक्षमा ६० प्रतिशत जुट्ने ठानिएको छ । ‘रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच एकता भए पनि त्यो पक्षको ४५ प्रतिशत मत नपुग्ने हाम्रो विश्लेषण छ’ उनले भने– केन्द्रमा देउवाको टिमै सुरक्षित देखिएको छ ।’
प्रारम्भिक परिणाम पौडेलको पक्षमा, ५ प्रदेशमा देउवा अल्पमतमा
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सभापति शेरबहादुर देउवाका लागि ‘फलामको चिउरा’ सरह हुने भएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर पक्ष बलियो देखिएपछि देउवा समस्यामा परेका हुन् । हालसम्म ७ मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुदुरपश्चिमबाहेकका प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन इतर समूह बलियो हुने देखिएको छ ।
सभापति देउवाको गृह प्रदेशमा पौडेल पक्षले विगतमा भन्दा सुधार गरेको छ । देउवाको पुख्र्यौली डोटीमा जिल्ला सभापतिको प्रतिस्पर्धामा प्रदीप देउवा तेस्रो भएका छन् । बाजुरामा यसअघि पौडेल पक्षले जित हासिल गरिसकेको छ । देउवाको गढ भनिने बैतडीमा पौडेल पक्षकै उम्मेदवार चतुरबहादुर चन्द सभापतिमा निर्वाचित भएका छन् । कञ्चनपुर, कैलाली लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षले विगतमा भन्दा संख्या थप गरेको छ । दार्चुलामा पौडेल पक्ष पहिलेदेखि नै बलियो रहँदै आएको थियो । सभापति देउवाको गृह जिल्लामा एकतर्फी रुपमा गरिएको अधिवेशन विरुद्ध आन्दोलन जारी छ ।
कर्णाली प्रदेशको सुर्खेतमा संस्थापन पक्षले विगतमा भन्दा सुधार गरेपनि अन्य जिल्लाको परिणाममा पौडेल पक्ष सुदृढ अवस्थामा छ । लुम्विनी प्रदेशमा पौडेल पक्षले करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि जितेको दावी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा पौडेल पक्षले स्पष्ट बहुमतसहित महाधिवेशन प्रतिनिधि जितेको अवस्था छ ।
गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाले प्रभाव देखाएका छन् । नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ , लमजुङ र कास्कीमा पौडेल पक्षको वर्चस्व स्थापित भएको छ । गण्डकी प्रदेशमा देउवा पक्ष अन्यत्र भन्दा कमजोर सावित भएको छ ।
बागमती प्रदेशका केही जिल्लामा संस्थापन पक्ष बलिया देखिएपनि काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अगाडि देखिएको छ । मकवानपुर र ललितपुरमा संस्थापन पक्ष बलियो भएपनि काठमाडौं र चितवनको नतिजाले प्रदेशभरीको क्षतिपूर्ति हुने पौडेल पक्षको दावी छ ।
प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु भइसकेका छैनन् । त्यहाँ उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षकै वर्चस्व हुने देखिन्छ । प्रदेश १ मा डा.शेखर कोइरालाको नेतृत्वमा संस्थापन इतर समूहले अग्रता लिएको छ । सो प्रदेशमा पौडेल नेतृत्वको समूह पहिलो , कृष्णप्रसाद सिटौला नेतृत्वको समूह दोस्रो र देउवा समूह तेस्रो स्थानमा देखिएको छ । प्रदेश १ का केही जिल्लामा देउवा पक्षले सभापति जितेपनि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षकै अग्रता देखिन्छ ।
वरिष्ठ नेता पौडेलको सचिवालयले विगतभन्दा निकै राम्रो नतिजा आएको जनाएको छ । पौडेलको सचिवालयले तयार पारेको तथ्यांकमा देउवा पक्षको जम्मा ३५ प्रतिशत हाराहारी शक्ति देखिएको छ । रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच आपसमा एकता कायम हुँदा ६० प्रतिशत शक्ति आर्जन गर्ने देखिएको छ । ‘हाम्रो टिमको कुल शक्ति ६० प्रतिशत देखिएको छ । आन्तरिक एकता कायम गरेर साझा उम्मेदवार दिन सक्यौ भने जुनसुकै अवस्थामा केन्द्रीय महाधिवेशन जित्छौं’, पौडेल पक्षको दावी छ ।
देशका विभिन्न क्षेत्रमा निर्वाचन हार्नै लाग्दा सभापति देउवा र गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा पौडेल पक्षका कार्यकर्ता कुटिएका छन् । त्यसका बावजुद पौडेल पक्षले महाधिवेशन प्रतिनिधिहरुमध्ये बहुमत आफ्नो पक्षमा पार्न सफल भएको छ ।


















